काठमाडौं । निर्वाचनबाट स्पष्ट बहुमतसहित सत्ताको बागडोर सम्हाल्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघिल्ला सरकारहरूले गरेका राजनीतिक नियुक्तिहरूमा हेरफेर गर्ने संकेत गरेको छ । नयाँ सरकार निर्माणको संवैधानिक प्रक्रिया सुरु हुनै लाग्दा रास्वपाले विगतका नियुक्तिधारीहरूलाई नैतिकताका आधारमा राजीनामा दिएर ‘मार्ग प्रशस्त’ गरिदिन आग्रह गरेको हो ।
विगतका सरकारले योग्यता र दक्षताभन्दा पनि राजनीतिक भागबन्डा र पहुँचका आधारमा आफ्ना कार्यकर्ताहरूलाई विभिन्न पदमा भर्ती गरेको भन्दै रास्वपाले त्यसप्रति नागरिक स्तरमा ठूलो असन्तुष्टि रहेको निष्कर्ष निकालेको छ । जनअपेक्षा सम्बोधन गर्न र सार्वजनिक प्रशासनमा सुधार ल्याउन नयाँ र विज्ञ टोली आवश्यक पर्ने भएकाले पुराना नियुक्तिहरू स्वतः हट्नुपर्ने पार्टीको आशय छ ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले औपचारिक रूपमा राजीनामा माग्ने निर्णय भइनसके पनि नयाँ जनादेशको कदर गर्दै पद खाली गरिदिनु उपयुक्त हुने बताएका छन् । उनले भने, ‘विगतमा राजनीतिक नियुक्ति दिँदा विषयविज्ञता भन्दा पनि दलका निकटका मानिसलाई लाभ दिने काम भयो । नयाँ सरकारले पनि तिनै नियुक्तिलाई निरन्तरता दिँदा परिवर्तनको महसुस नहुने भएकाले उहाँहरूले स्वस्फूर्त रूपमा बाटो खुल्ला गरिदिनु राम्रो हुन्छ ।’
महामन्त्री बुर्लाकोटीका अनुसार विगतका सरकारले गरेका यस्ता राजनीतिक नियुक्तिको सङ्ख्या करिब १ हजार १०० को हाराहारीमा रहेको अनौपचारिक जानकारी पार्टीलाई प्राप्त भएको छ । ती स्थानहरूमा अब पारदर्शी प्रक्रियाबाट योग्य, क्षमतावान् र सम्बन्धित क्षेत्रका विज्ञहरूलाई ल्याउने रास्वपाको तयारी छ । यद्यपि, राजदूत फिर्ता वा अन्य पदाधिकारीलाई हटाउने विषयमा पार्टीभित्र औपचारिक छलफल भने सुरु भइसकेको छैन ।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिटमा ऐतिहासिक जित हासिल गरेको छ । बहुमत प्राप्त गरेसँगै रास्वपाले चैत १३ गते नयाँ सरकार गठन गर्ने कार्यतालिका तय गरेको छ ।
पार्टीले चैत १२ गते संसदीय दलको नेता चयन गर्नेछ भने प्रस्तावित प्रधानमन्त्री बालेन शाहले चैत १३ गते पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) बमोजिम शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।