काठमाडौँ । संघीय संसद्को गतिविधि र प्रशासनिक सञ्चालनलाई मध्यनजर गर्दै सिंहदरबार क्षेत्रको सुरक्षा व्यवस्थाबारे गृह मन्त्रालयमा उच्चस्तरीय बैठक बसेको छ।
ओमप्रकाश अर्याल को अध्यक्षतामा बसेको बैठकमा सुरक्षा तयारी, ट्राफिक व्यवस्थापन तथा संसद् सम्बन्धी कार्यक्रमलाई लक्षित गर्दै आवश्यक समन्वयका विषयमा छलफल गरिएको हो। बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायत मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
छलफलका क्रममा नवनिर्वाचित संघीय सांसदहरूको शपथग्रहण, आगामी अधिवेशन सञ्चालन तथा सिंहदरबार परिसरभित्र रहेका विभिन्न मन्त्रालयहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै समग्र सुरक्षा योजना सुदृढ गर्ने विषयमा ध्यान केन्द्रित गरिएको जनाइएको छ।
गृहमन्त्री अर्यालले सम्बन्धित निकायलाई कार्यक्रम व्यवस्थापनसँगै ट्राफिक तथा सुरक्षा समन्वयलाई प्रभावकारी बनाउने गरी आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।
बैठकमा सहभागी सुरक्षा निकायका अधिकारीहरूले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकिएको र थप आवश्यकताअनुसार तयारीलाई सुदृढ गर्दै जाने जानकारी दिएका छन्।