८ चैत्र २०८२, आईतवार
Follow Us

नेपाली काँग्रेसमा समानान्तर गतिविधिका कारण विभाजनको खतरा

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०८२, आईतवार १३:५८

काठमाडौं । नेपाली काँग्रेसभित्रको शक्ति संघर्षले पार्टीलाई विभाजनको संघारमा पुर्‍याएको छ । एकातिर गगन थापा नेतृत्वको वर्तमान कार्यसमिति निर्वाचन समीक्षाका लागि बैठकहरू गरिरहेको छ भने अर्कोतिर देउवा र कोइराला समूहले समानान्तर रूपमा आफ्ना गतिविधिहरू अगाडि बढाइरहेका छन् ।

यो अवस्थाले कांग्रेसको भविष्यलाई झनै अन्योलपूर्ण र जोखिमपूर्ण बनाएको छ । नेता श्याम घिमिरेले पार्टीभित्रको यो ‘इगो’ को लडाइँले आगामी निर्वाचनमा काँग्रेसलाई झनै खुम्च्याउने चेतावनी दिए । घिमिरेका अनुसार अहिलेको मुख्य आवश्यकता भनेको पार्टीलाई एकजुट बनाएर लैजानु हो । तर अहिलेको अवस्थामा दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहँदा कार्यकर्ताहरूमा निराशा छाएको छ ।

देउवा–कोइराला समूहले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको छुट्टै बैठक बोलाउने तयारी गर्नुले पार्टीभित्र दुईवटा समानान्तर केन्द्रहरू बनेको प्रस्ट हुन्छ । यो शक्ति संघर्षले नेपाली काँग्रेसको सांगठनिक ढाँचालाई नै कमजोर बनाउँदै लगेको छ ।

घिमिरेले चेतावनी दिँदै यदि समयमै यो विवाद समाधान भएन भने काँग्रेसले आफ्नो ऐतिहासिक विरासत गुमाउन सक्ने बताए । आगामी निर्वाचनमा अस्तित्वको संकट व्यहोर्नुपर्ने हुनसक्ने उनको भनाइ छ । सबैको नजर अब पार्टीका शीर्ष नेताहरूले लिने निर्णय र सर्वोच्च अदालतको फैसलामा अडिएको छ । ‘यदि कसैले ‘मैले जितिहालेँ अब मेरो मात्र चल्छ’ भन्ने अहङ्कार पालेर अगाडि बढ्न खोज्यो भने त्यो काँग्रेसका लागि आत्मघाती हुनेछ । पार्टीभित्रको यो आन्तरिक कलहले अर्को निर्वाचनमा झन् खुम्चिने र कमजोर हुने सम्भावना प्रबल छ । अदालतको फैसलापछि जसले नेतृत्वको बागडोर सम्हाले पनि, सबै पक्षलाई समेटेर लैजाने उदारता देखाउनुपर्छ । पार्टीलाई एकजुट बनाएर लैजाने बाटोमा अगाडि बढ्नैपर्छ, त्यो बाध्यता हो’ उनले भने ।

नेपाली काँग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र कार्यविभाजनलाई लिएर नयाँ र गम्भीर विवाद सतहमा आएको छ । पार्टीका निःवर्तमान सभापति शेरबहादुर देउवा र प्रभावशाली नेता डा. शेखर कोइराला समूहले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको छुट्टै र विशेष बैठक बोलाउने तयारीलाई तीव्रता दिएका छन् । यो कदमले पार्टीको वर्तमान संस्थापन पक्ष र असन्तुष्ट पक्षबीचको खाडल झनै फराकिलो बनाउने देखिएको छ ।

आइतवार धुम्बाराहीमा बसेको देउवा र कोइराला पक्षका शीर्ष नेताहरूको गोप्य भनिएको बैठकले हालै सम्पन्न निर्वाचनको परिणाम र पार्टीको आन्तरिक अवस्थाको गम्भीर समीक्षा गरेको छ । बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डा. शेखर कोइरालासहितका निवर्तमान कार्यसमिति र कार्यसम्पादन समितिका प्रभावशाली नेताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

उनीहरूले वर्तमान नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको निष्कर्ष निकाल्दै पुरानै कार्यसमितिको बैठक बोलाउनु पर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेसका नेता श्याम घिमिरेका अनुसार पार्टी निर्वाचनमा नराम्रोसँग पराजित हुनुको एउटा मुख्य कारण १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई भूमिकाविहीन बनाइनु पनि हो । घिमिरेले भने, ‘मेरो बुझाइमा अहिले साथीहरू अत्यन्तै ठूलो अन्यमनस्कको अवस्थामा छन् । पार्टी नराम्रोसँग पराजित भएको छ, तर पराजयको समीक्षा गर्ने ठाउँ कतै छैन । १४ औँ महाधिवेशनबाट निर्वाचित भएर आएका हामी केन्द्रीय सदस्यहरू अहिले पूर्ण रूपमा भूमिकाविहीन भएका छौँ । यो अवस्थामा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने चिन्ता सबैमा छ ।’

राजनीतिमा अनौपचारिक भेटघाट र सम्पर्क भइराख्ने कुरा स्वाभाविक भए पनि अहिलेको परिस्थितिमा यो छलफलले विशेष अर्थ राख्छ । देउवा पक्षद्वारा आधिकारिक रूपमा केन्द्रीय समितिको औपचारिक बैठक बोलाइहाल्ने निर्णय भइनसकेको भए पनि नेताहरूको आवाज र दबाब निकै बढेको उनले बताए ।

निर्वाचन समीक्षाका लागि पुरानै कार्यसमितिको बैठक बोलाउनुपर्ने मागले पार्टीभित्र नयाँ ध्रुवीकरण सिर्जना गरेको छ । यो छलफलले आगामी दिनमा नेपाली काँग्रेसको आन्तरिक राजनीतिलाई कुन दिशामा लैजान्छ भन्ने कुरा सबैको चासोको विषय बनेको छ ।

धेरै पढिएको