काठमाडौं । पूर्वप्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई पिसाबको संक्रमण देखिएको छ । संक्रमण देखिएसँगै उनको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया केही दिनका लागि स्थगित गरिएको छ ।
काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीको बिहीबार गरिएको युरिन परीक्षणमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार हाल संक्रमणको उपचार भइरहेको छ ।
यसअघि ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी देखिएपछि शल्यक्रियाको तयारी गरिएको थियो । तर, हाल देखिएको पिसाब संक्रमण निको नभएसम्म शल्यक्रिया नगर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ ।
सूचना अधिकारी रोस्याराका अनुसार संक्रमण पूर्ण रूपमा निको भएपछि मात्र पत्थरीको शल्यक्रिया गरिनेछ ।
ओलीलाई चैत १४ गते बिहान पक्राउ गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालको ‘एनेक्स–१’ अन्तर्गत बेड नम्बर ५०१ मा चिकित्सकहरूको निगरानीमा राखिएको छ ।
मिर्गौला प्रत्यारोपण गराइसकेका ओलीको यसअघि दुई पटक किड्नी ट्रान्सप्लान्ट भइसकेको छ ।
जेनजी आन्दोलनको छानबिनका लागि गौरीबहादुर कार्की नेतृत्वमा गठित आयोगको प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएको हो । सोही प्रकरणमा पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
ओलीको स्वास्थ्य अवस्था कमजोर देखिएपछि उनलाई अस्पतालमै राखिएको छ भने लेखकलाई प्रहरी हिरासतमा राखिएको छ ।
अनुसन्धानका लागि दुवै जनालाई हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले पाँच दिनको अनुमति दिएको थियो । थप समयका लागि आज पुनः अदालतबाट अनुमति लिने तयारी गरिएको छ ।