लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय पदाधिकारी तथा आईसीसी सदस्यहरूले तोकिएको शुल्क नतिरेमा उनीहरूको पद स्वतः खारेज हुने भएको छ।
गैरआवासीय नेपाली संघको संशोधित विधान २०२६ को धारा २२ अनुसार निर्वाचित वा मनोनित भएको ४५ दिनभित्र शुल्क नबुझाए सो पद स्वतः खारेज हुने व्यवस्था गरिएको हो।
विधानअनुसार निर्वाचित तथा मनोनित अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) का पदाधिकारी तथा सदस्यहरूले तोकिएको सदस्यता शुल्क शपथ ग्रहणअघि नै बुझाउनुपर्नेछ। तर, निर्वाचित वा मनोनित भएको ४५ दिनभित्र शुल्क नबुझाएमा उनीहरूको पद स्वतः खारेज हुनेछ।
संघको विधानअनुसार केन्द्रीय पदाधिकारीहरूले उम्मेदवारी शुल्क तथा कार्यालय सञ्चालनका लागि अनिवार्य रूपमा १ लाख रुपैयाँ बुझाउनुपर्ने व्यवस्था रहेको छ।
गैरआवासीय नेपाली संघको गत महिना सम्पन्न बृहत् एकता महाधिवेशनपछि संघको आर्थिक व्यवस्थापनलाई कडाइका साथ लागू गर्ने तयारी गरिएको छ।

२२.१४ मनोनित सदस्यः
२२.१४.१ अन्तराष्ट्रिय समन्वय परिषद्ले कम्तिमा १५ (पन्ध्र) जना महिला प्रतिनिधि सहित बढीमा ५१ (एकाउन्न) जना सम्म मनोनित सदस्यहरु निश्चित समयावधिको लागि मनोनित गर्न सक्नेछ । यी सदस्यहरुको पदावधि परिषदको पदावधि समाप्त भए पछि स्वतः समाप्त हुनेछ ।
२२.१४.२ विधानको दफा २२.१३ बमोजिम विभिन्न विषयहरुमा संघको केन्द्रीय तहमा रही योगदान गर्न सक्ने व्यक्तिहरुको रुपमा मनोनित अन्तराष्ट्रिय समन्वय परिषदका सदस्यहरुले अन्तराष्ट्रिय समन्वय परिषद्ले तोके बमोजिमका जिम्मेवारीहरु पूरा गर्ने ।
२२.१५ निर्वाचित तथा मनोनित भएका अन्तराष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा सदस्यहरुले तोकेको सदस्यता शुल्क शपथ ग्रहण भन्दा पहिले बुझाउनु पर्नेछ । तर निर्वाचित वा मनोनित भएको ४५ दिन भित्र शुल्क नबुझाए सो पद स्वतः खारेज हुनेछ ।