लण्डन । नेपाली नयाँ वर्षको शुभारम्भका बेला बेलायतको अल्डरसटस्थित शिव कल्चरल सेन्टरमा अल्डरसट १९ अप्रिल आइतबार विश्व शान्तिको कामनासहित एक दिवसीय “विश्व शान्ति यज्ञ” भव्य रूपमा सम्पन्न भएको छ। विश्व हिन्दु महासंघ बेलायत च्याप्टरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न पेशा, समुदाय तथा संघ–संस्थाका प्रतिनिधिसहित सयौं नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यज्ञको मुख्य आचार्यका रूपमा आचार्य दुर्गाप्रसाद पोख्रेलले आध्यात्मिक निर्देशन प्रदान गरेका थिए भने कार्यक्रम संयोजन विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका संयोजक खगेन्द्र पाठकले गरेका थिए। कार्यक्रमको प्रारम्भ विशेष अतिथिहरूको स्वागत, स्वस्तिवाचन तथा दीपप्रज्वलनबाट गरिएको थियो।
कार्यक्रममा कार्यवाहक राजदूत तथा सैनिक सहचारीको उपस्थितिमा यज्ञ शुभारम्भ गरिएको थियो। राजदूतले विश्व शान्ति यज्ञको महत्वबारे प्रकाश पार्दै वर्तमान विश्वमा बढ्दो अशान्ति न्यूनीकरणका लागि यस्ता धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरूको आवश्यकता औंल्याएका थिए।
यज्ञअन्तर्गत शिव पूजन तथा रुद्री पाठ पण्डित मधुसूदन सत्याल, देवी पूजन तथा चण्डी पाठ पण्डित जगदीश पौडेल र नवग्रह पूजन पण्डित उत्तम पौडेलले सम्पन्न गरेका थिए। यज्ञ सञ्चालन, निर्देशन तथा प्रवचन स्वयं आचार्य पोख्रेलद्वारा गरिएको थियो।
महन्त श्रेष्ठ, राजु मल्ल, खगेन्द्र पाठक, राजन शाक्य र दीपक करण शाही परिवारले मूल यजमानको भूमिका निर्वाह गरेका थिए भने ६४ जना हवन यजमानहरूको नाम गोत्र संकल्प सहित सक्रिय सहभागिता रहेको थियो। सयौंले विश्व शान्तिको कामना सहित पूजन, यजन र हवनमा सहभागिता जनाए ।
औपचारिक कार्यक्रममा भजन, प्रवचन तथा सांगीतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो। यज्ञका मूल सूत्रधार एवं यज्ञाचार्य दुर्गाप्रसाद पोख्रेलले यज्ञ नै अहिलेको विश्वको अशान्तिमाथि विजय पाउने रामवाण भएको र यज्ञले पर्यावरण, ब्रह्माण्डीय दिव्य उर्जा र चेतनाको सन्तुलन बनाउनसक्ने विश्व शान्ति र मानव कल्याणका लागि यज्ञको महत्त्वपूर्ण भूमिका हुने बताएका थिए । समारोहमा प्रवचक रामविरेश महतो र प्रवाचिका चन्द्रकला सखीले यज्ञको धार्मिक, आध्यात्मिक र वैज्ञानिक महत्वबारे प्रवचन दिएका थिए भने विभिन्न कलाकारहरूले संगीतमय भजन कीर्तन प्रस्तुत गरेका थिए। कार्यक्रममा बेलायत भ्रमणमा रहेका कथावाचक भुवन शर्मालाई समेत सम्मान गरिएको थियो।
कार्यक्रमका संयोजक खगेन्द्र पाठकले विश्व शान्तिका लागि यज्ञको महत्व उल्लेख गर्दै यस्तो कार्यक्रमले मानवता, सहअस्तित्व र एकताको सन्देश दिने बताएका थिए। उनले यज्ञलाई केवल धार्मिक कर्मकाण्ड नभई सकारात्मक ऊर्जा प्रवाह गर्ने माध्यमको रूपमा व्याख्या गरे ।
आयोजकका अनुसार डायस्पोरामा नेपाली समुदायको वृहत् सहभागितामा आयोजना गरिएको यस्तो खालको विश्व शान्ति यज्ञ पहिलो पटक भएको हो। यसले सनातन धर्मको संरक्षण, संवर्द्धन तथा विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमको समापन आरती, सम्मान तथा प्रसाद वितरणसँगै गरिएको थियो।
फोटो : शिव भण्डारी