काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा हुर्किरहेका दोस्रो पुस्ताका नेपालीहरुलाई नेपालसँग जोड्ने अहिलेको मुख्य चुनौती रहेको बताएका छन् । दोस्रो पुस्तालाई नेपालसँग जोड्ने उद्देश्यले आयोजना गरिएको छलफल कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष शर्मालाई नेपालसँग जोड्नका लागि आउँदो जनवरीमा कन्क्लेव आयोजना गर्ने योजना सुनाए ।
अध्यक्ष शर्माले छलफलमा भनेका कुराहरुको सम्पादित अंश
हामी पहिलो पुस्ताका मानिसहरू त नेपालमै हुर्किएका हौँ, तर हाम्रो मुख्य चुनौती भनेको विदेशमा रहेका हाम्रा सन्ततिलाई नेपालसँग कसरी जोड्ने भन्ने नै हो । विभिन्न देशको अवस्था फरक छ । उदाहरणका लागि, बर्मा (म्यानमार) जस्ता देशमा पाँचौँ पुस्तासम्मका नेपालीहरूले पनि निकै राम्रो नेपाली बोल्नुहुन्छ । तर, पश्चिमा देशहरूको सन्दर्भमा हेर्दा केही बच्चाहरु राम्ररी घुलमिल भएका छन् भने केही नेपालसँग कत्ति पनि जोडिन सकेका छैनन् । त्यसैले, एनआरएनमार्फत दोस्रो पुस्तालाई नेपालसँग जोड्नु नै हाम्रो मुख्य उद्देश्य हो ।
यसैगरी, दोस्रो पुस्ताको क्षमता हामीभन्दा धेरै छ। उनीहरू त्यहाँको समाजमा हामीभन्दा राम्ररी भिज्न सक्छन् र त्यहाँका मानिसहरूको मनोविज्ञान पनि राम्ररी बुझ्छन् । उनीहरू विश्वका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गरिरहेका छन् र प्रविधिमा निकै अब्बल छन् । त्यसैले, भविष्यमा नेपालका लागि धेरै योगदान गर्न सक्ने भनेकै यही पुस्ता हो । यसका लागि पहिलो खुड्किलो ‘नेटवर्किङ’ नै हो । यही आवश्यकतालाई ध्यानमा राखेर १२औँ एजीएमले दीपमालालाई अन्तर्राष्ट्रिय संयोजकको रूपमा मनोनयन गरेको छ । अब प्रत्येक एनसीसीबाट कम्तीमा एक जना दोस्रो पुस्ताको प्रतिनिधि पठाइदिनुहुन म अभिभावकहरूलाई अनुरोध गर्दछु, ताकि युवाहरूबीच आपसमा संवाद सुरु होस् ।
हाम्रा बच्चाहरूलाई एनआरएन एउटा राम्रो संस्था हो र यसमा लाग्नुपर्छ भनेर हामीले विश्वास दिलाउन सक्नुपर्छ । यदि हामीले आफ्नै सन्तानलाई कन्भिन्स गर्न सकेनौँ भने हाम्रो अभियानको खासै अर्थ रहँदैन । यसका लागि हामीले तीनवटा मुख्य कार्यक्रम अघि सारेका छौँः नेटवर्किङ, इन्टर्नसिप र कन्क्लेभ । आगामी वर्षको गर्मी बिदामा हामी बच्चाहरूलाई एक महिनाको लागि नेपाल लगेर इन्टर्नसिप गराउने योजनामा छौँ ।
यो केवल घुम्ने कार्यक्रम मात्र नभई उनीहरूको सीप विकास गर्ने अवसर पनि हो । डायस्पोराका नेपालीहरूले नै सञ्चालन गरेका बैंक, अस्पताल र विश्वविद्यालयहरूमा उनीहरूलाई जोड्न सकिन्छ । यसका लागि आर्थिक प्रायोजन वा टप–अपको व्यवस्था गरेर व्यवस्थित रूपमा अघि बढ्नेछौँ ।
त्यस्तै, नेपालमा एउटा ठुलो ‘कन्क्लेभ’ गर्ने प्रस्ताव पनि छ। हामीले केही अह्राउनु भन्दा पनि उनीहरू के चाहन्छन् भन्ने कुरा सुन्नु महत्त्वपूर्ण छ, किनकि उनीहरूको संसार र सोच्ने तरिका हामीभन्दा भिन्न छ । यो कार्यक्रम कहिले गर्ने भन्ने विषयमा छलफल आवश्यक छ । अक्टोबरमा स्कुल–कलेज हुने हुनाले डिसेम्बर वा जनवरीको सुरुवातमै गर्दा उपयुक्त हुन सक्छ, यद्यपि हवाई टिकटको मूल्य र विभिन्न देशको शैक्षिक क्यालेन्डरलाई ध्यान दिनुपर्ने हुन्छ । यदि हामीले यो सम्बन्ध कायम राख्न सक्यौँ भने, भोलि हाम्रा बच्चाहरू जुन देशमा भए पनि त्यहाँको उच्च तहमा पुग्दा त्यसको लाभ नेपालले पाउनेछ ।