काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले आज मङ्गलबारबाट प्रदेशस्तरीय भेला सुरु गरेका छन् । उक्त समूहले आज कोशी प्रदेशस्तरीय भेला मोरङको विराटनगरमा गर्दैछ । विराटनगरको बिग होटलमा बिहान ११ बजेदेखि भेला सुरु हुने बताइएको छ ।
पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय भेलाहरू गरिरहेकै बेला देउवा समूहले पनि आन्तरिक रणनीति तय गर्न भेला सुरु गर्न लागेको हो । नेता मीन विश्वकर्माले विचार समूहमा रहेका नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन भेला आयोजना गरिएको जानकारी दिए ।
देउवा समूहले भोलि (बुधबार) काठमाडौँमा बागमती प्रदेशस्तरीय भेला गर्ने भएको छ । भेला बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दिउँसो १ बजेबाट सुरु हुनेछ । पार्टीलाई एकताबद्ध बनाउनका लागि बागमती प्रदेशस्तरीय बृहत् भेला आयोजना गर्ने निर्णय गरिएको देउवा पक्षीय नेताहरूको भनाइ छ ।
देउवा समूहले प्रदेशस्तरीय भेलाका लागि कोशीमा कृष्णप्रसाद सिटौला र मधेशमा आनन्दप्रसाद ढुङ्गानालाई समन्वयको जिम्मेवारी दिएको छ । यस्तै गण्डकीमा मेखलाल श्रेष्ठ, बागमतीमा प्रकाशमान सिंह र डा. प्रकाशशरण महतले समन्वय गरिरहेका छन् ।
नेता विश्वकर्माका अनुसार लुम्बिनीमा निवर्तमान सहमहामन्त्री किशोरसिंह राठौर, कर्णालीमा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई जिम्मा दिइएको छ ।