३ जेष्ठ २०८३, आईतवार
Follow Us

सुन्धारा कारागारबाट जन्मकैद सजाय भुक्तान गरिरहेकी महिला कैदी फरार

नेपालब्रिटेन संवाददाता
३ जेष्ठ २०८३, आईतवार ११:२९

काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट जन्मकैद सजाय भुक्तान गरिरहेकी एक महिला कैदी फरार भएकी छन् ।

कारागारका जेलर कृष्ण चापागाईँका अनुसार नुवाकोटको विदुर नगरपालिका–१३ निवासी २५ वर्षीया सपना तामाङ शुक्रबार राति महिला बन्दी गृहको पर्खाल नाघेर फरार भएकी हुन् ।

सपना अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान र डाँकाचोरी मुद्दामा जिल्ला अदालत रसुवा बाट दोषी ठहर भई जन्मकैद सजाय भुक्तान गरिरहेकी थिइन् । उनी २०७७ पुस १६ गते पक्राउ परेकी थिइन् भने फागुन ४ गते सुन्धारा कारागार ल्याइएको थियो ।

प्रहरीका अनुसार शुक्रबार राति करिब १ बजेतिर उनी कारागारको बाहिरी पर्खाल नाघेर भागेकी थिइन् । तर उनको फरारीबारे कारागार प्रशासनले करिब १५ घण्टापछि मात्रै जानकारी पाएको थियो ।

शुक्रबार अपराह्न कैदीबन्दी गणना गर्ने क्रममा एक जना संख्या कम देखिएपछि कारागार प्रशासनले गेटमा खटिएका सुरक्षाकर्मीसँग सोधपुछ गरेको थियो । गेटबाट बाहिरिएको कुनै रेकर्ड फेला नपरेपछि सीसीटीभी फुटेज जाँच गर्दा सपना पर्खाल नाघेर भागेको देखिएको जनाइएको छ ।

कारागार सुरक्षाका लागि डीएसपीको कमाण्डमा नेपाली प्रहरीको टोली परिचालन रहेको छ । घटनाबारे कारागार प्रशासनले आन्तरिक छानबिन सुरु गरेको जनाएको छ ।

फरार भएकी सपनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको