१० जेष्ठ २०८३, आईतवार
Follow Us

एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनमा ६ सय प्रतिनिधि सहभागी हुने

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०८३, आईतवार १९:१९

नागरिकता र आर्थिक सहभागिता एनआरएनएको प्रमुख प्राथमिकता : अध्यक्ष डा. हेमराज शर्मा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले संघको प्राथमिकतामा लगानी, नागरिकता, आर्थिक सहभागिता तथा विदेशमा रहेका नेपाली र नेपाल सरकारबीचको सम्बन्ध सुदृढीकरण प्रमुख रहेको बताएका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनमार्फत यी विषयलाई थप प्रभावकारी रूपमा अघि बढाइने उल्लेख गरे। उनले नेपाल सरकारले पनि डायस्पोराका मुद्दालाई प्राथमिकतामा राख्न थालेकोप्रति उत्साह व्यक्त गरे।

डा. शर्माका अनुसार लगानी, पर्यटन र व्यवसाय केन्द्रित क्षेत्रीय सम्मेलन एनआरएनएका लागि कोसेढुङ्गा सावित हुनेछ। साथै, दोस्रो पुस्ता तथा विभिन्न क्षेत्रमा क्रियाशील विज्ञहरूलाई जोड्ने उद्देश्यले काठमाडौँमा सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए। उनले क्षेत्रीय सम्मेलनले नेपालमा हुने आगामी कार्यक्रमहरूलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले एनआरएनएको १३औँ महाधिवेशनमा विदेशमा रहेका सबै पञ्जीकृत सदस्यलाई मतदानको व्यवस्था गरिने जानकारी पनि दिए। साथै, संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग सहकार्य गर्न संघभित्र छुट्टै संरचना निर्माण गरिएको उनले बताए।

कार्यक्रममा महासचिव चिरञ्जीवी खड्काले क्षेत्रीय सम्मेलनको व्यवस्थापनका लागि केन्द्रीय कार्यालयमार्फत एकीकृत संयन्त्र निर्माण गरिने जानकारी दिए।

गैरआवासीय नेपाली संघ अन्तर्गत एसिया–प्रशान्त क्षेत्रको आयोजनामा तथा राष्ट्रिय समन्वय परिषदहरूको समन्वयमा आगामी सन् २०२६ अगस्त १५ र १६ तारिखमा चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टरमा ११औँ एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ आयोजना हुँदैछ।

“आरोहण २०२६ – राइजिङ टुगेदर: कनेक्टिङ द नेपाली डायस्पोरा फर इन्भेस्टमेन्ट, टुरिज्म एन्ड जेनेरेशनल लिंक्स” मूल नारासहित आयोजना हुने उक्त सम्मेलनले विश्वभर फैलिएको नेपाली डायस्पोरालाई नेपालसँग आर्थिक तथा सामाजिक रूपमा जोड्ने तथा पुस्तान्तरणलाई सुदृढ बनाउने लक्ष्य लिएको छ। सम्मेलनका संयोजक तथा एसिया–प्रशान्त क्षेत्रीय संयोजक दीपक कँडेलले सो जानकारी दिएका हुन्।

चीनको प्रमुख व्यापारिक केन्द्र ग्वाङ्झाउमा आयोजना हुने सम्मेलनले एसिया–प्रशान्त क्षेत्रमा रहेका दक्ष र स्रोतसाधनयुक्त नेपाली डायस्पोरालाई नेपालको लगानी तथा पर्यटन अवसरहरूसँग जोड्ने उद्देश्य राखेको छ।

सम्मेलनमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, व्यापार–व्यवसाय साझेदारी (बी–टु–बी नेटवर्किङ), जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि तथा पूर्वाधार क्षेत्रका विषयमा छलफल हुनेछ। साथै, श्रमिक सुरक्षा, महिला उद्यमशीलता र युवा सहभागितालाई पनि विशेष प्राथमिकता दिइनेछ।

दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवालाई आफ्नो पहिचान, संस्कृति र मातृभूमिसँग जोड्ने विषयलाई सम्मेलनले विशेष महत्व दिएको छ। विदेशमा जन्मिएका तथा हुर्किएका युवालाई संस्कृति, खेलकुद, साहसिक पर्यटन र ट्रेकिङमार्फत नेपालसँग भावनात्मक रूपमा जोड्ने योजना रहेको जनाइएको छ।

दुईदिने सम्मेलनमा पाँच वटा सत्रमार्फत कार्यपत्र प्रस्तुत गरिनेछ। पहिलो दिन अगस्त १५ मा नेपाल र चीन सरकारका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागितामा उद्घाटन समारोह आयोजना गरिनेछ। सोही दिन “नेपालमा लगानीका सम्भावना र डायस्पोरा साझेदारी” विषयमा विशेष सत्र सञ्चालन हुनेछ।

दोस्रो दिन अगस्त १६ मा पर्यटन प्रवर्द्धन, वैदेशिक रोजगारी, महिला तथा युवा उद्यमशीलता र पुस्तान्तरणीय सम्बन्धका विषयमा विस्तृत छलफल गरिनेछ।

सम्मेलनको समापनमा “ग्वाङ्झाउ घोषणा–२०२६” जारी गरिनेछ, जसमा नेपाल सरकारलाई नीतिगत सुझाव तथा कार्ययोजना प्रस्तुत गरिने जनाइएको छ।

सम्मेलनमा ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ।

पत्रकार सम्मेलनको सञ्चालन सङ्गीता अधिकारीले गरेकी थिइन्। कार्यक्रममा एनआरएनएका केन्द्रीय तथा क्षेत्रीय पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, सम्मेलन व्यवस्थापनबारे विस्तृत जानकारी पनि दिइएको थियो।

धेरै पढिएको