१२ असार २०८३, शुक्रबार
Follow Us

छोटो अवधिमै रास्वपा राष्ट्रिय राजनीतिमा बलियो शक्ति बन्यो : सभापति थापा

नेपालब्रिटेन संवाददाता
७ असार २०८३, आईतवार ०४:१३

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिक यात्राको प्रशंसा गरेका छन्।

प्रथम महाधिवेशनको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले रास्वपा सभापति रवि लामिछाने र रास्वपा परिवारलाई सम्बोधन गर्दै लेखेका छन्, ‘पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ।’

थापाले यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताएका छन्। उनले भनेका छन्, ‘यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु।’

आजदेखि चितवनमा सुरु हुने उक्त महाधिवेशनको उद्‌घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम छ।

हेर्नुस् उनको शुभकामना सन्देश
प्रिय रवि लामिछानेजी,
सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी,
तथा रास्वपा परिवार,
हार्दिक शुभकामना!
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा तपाईं र सम्पूर्ण रास्वपा परिवारलाई हार्दिक शुभकामना!
पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ।
यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो।
यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु।
तपाईंको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु।
जय नेपाल!

धेरै पढिएको