काठमाडौं । पानीमा डुबेर शनिबार ५ जनाको मृत्यु भएको छ । सुर्खेत, दैलेख र बारामा ५ जना बालबालिकाको मृत्यु भएको हो । सुर्खेतको बीरेन्द्रनगर नगरपालिकामा २ जना बाराको कलैया नगरपालिकामा २ जना र दैलेखको गुराँस गाउँपालिकामा एकजनाको मृत्यु भएको हो ।
सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
कलैया उपमहानगरपालिका-६ पर्सा टोलकी ६ वर्षीया सृजनाकुमारी मण्डल र सोही ठाउँकी पाँच वर्षीया अञ्जलीकुमारी मण्डल रहेका छन् । स्थानीय दिपेन्द्र साहको हाँस पाल्ने पोखरीमा नुहाउन गएका दुवै बालिका डुबेका थिए ।
यसैगरी, दैलेखको गुराँस गाउँपालिकाका १८ वर्षीय रमेश पुनको शनिबार नै दहतातलमा डुबेर मृत्यु भएको छ ।