बलेवा — बाग्लुङ जिल्ला अमलाचौर निवासी समाजसेवी चक्रपाणी आचार्यको ९७ वर्षको उमेरमा निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उहाँको शनिबार साँझ चितवनमा निधन भएको हो।
स्वर्गीय आचार्यका एक छोरा र पाँच छोरी रहेका छन्। उहाँले जीवनभर समाजसेवामा समर्पित रहँदै दर्जनौँ मठमन्दिर निर्माणमा महत्वपूर्ण योगदान दिनुभएको थियो।
जीवनको लामो समय भारतमा बिताउनुभएका आचार्यले प्रवासमा रहँदा पनि त्यहाँ रहेका नेपाली समुदायलाई रोजगारीको अवसर जुटाउन उल्लेखनीय सहयोग पुर्याउनुभएको थियो। उहाँको यस योगदानका कारण प्रवासी नेपालीबीच उहाँ विशेष रूपमा परिचित हुनुहुन्थ्यो।
बाग्लुङवासीले उहाँलाई ‘नचने’ उपनामले समेत चिन्ने गर्दथे। उहाँको निधनले स्थानीय समुदाय मात्र नभई समग्र समाजसेवा क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।