काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेस्टहाउस’ चौरमा पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरे । सो अवसरमा उनीहरूसँग मञ्चमा रहेका अतिथिहरूले पनि एकै साथ घण्टी बजाएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देल सहभागी छन् ।
यसै गरी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतको सहभागिता रहेको छ । उद्घाटन सत्र सुरु हुँदै गर्दा वर्षा भए पनि समारोहमा मानिसहरूको उल्लेख्य उपस्थिति छ ।
निर्वाचन तालिका सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ ।
तालिकाअनुसार आज राति ११ बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिने छ । सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।
सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिने छ । यस्तै, सोमबार बेलुका ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध, ७ बजेदेखि ९ बजेसम्म दाबी–विरोध परेका उम्मेदवारबारे जाँचबुझ गरिने छ । उहाँका अनुसार बेलुकी ९:१५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली राति ११ बजे प्रकाशन गरिने छ ।
यही असार ९ गते मङ्लबार बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान सुरु गरिनेछ । जसमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उनले जानकारी दिए। मतदानपछि पहिलो चरणको मतगणना र मत परिणाम घोषणा दुई घण्टापछि गरिने छ । त्यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।
आयोगले पार्टी सभापतिको उम्मेदवारका लागि रु. ५१ हजार शुल्क र एक जना प्रस्तावक एवं ५१ जनाको समर्थन आवश्यक पर्ने जनाएको छ । यस्तै, पार्टी पदाधिकारीका लागि रु. ४१ हजार शुल्क र एक जना प्रस्तावक तथा २१ जनाको समर्थन, र केन्द्रीय सदस्यका लागि रु २१ हजार शुल्क र एक जना प्रस्तावक एवं २१ जनाको समर्थन आवश्यक पर्ने आयोगले जनाएको छ ।
महाधिवेशनमा ४,२११ जना प्रतिनिधि छन् ।