३० असार २०८३, मंगलवार
Follow Us

६ महिनाभित्र एनआरएन नागरिकता कार्यान्वयन हुन्छ : महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल

नेपालब्रिटेन संवाददाता
३० असार २०८३, मंगलवार ०४:४२

लण्डन । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले गैरआवासीय नेपाली समुदायले नेपालको विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै बैंकिङ सेवामा पहुँचलगायत तत्काल समाधान गर्न सकिने प्रशासनिक विषयहरू सम्बन्धित निकाय, विशेषतः नेपाल राष्ट्र बैंकसँग आवश्यक समन्वय गरी पहल गरिने विश्वास व्यक्त गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रोजिना प्रधान राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयमा भएको शिष्टाचार भेटमा गैरआवासीय नेपाली (एनआरएन) सम्बन्धी कानुनी तथा नीतिगत सुधार, अधिकार तथा हित संरक्षण र प्रस्तावित गैरआवासीय नेपाली ऐनका विषयमा विस्तृत छलफल भएको थियो।

महान्यायाधिवक्ता कँडेलले प्रस्तावित गैरआवासीय नेपाली ऐनलाई अन्तिम रूप दिँदा राष्ट्रिय देवानी संहिताका प्रावधानहरूको गहिरो अध्ययन गरी कानुनी स्पष्टता कायम गर्न सुझाव दिएका छन्। साथै, विधायन प्रक्रियाअनुसार करिब छ महिनाभित्र उक्त ऐन पारित हुने अपेक्षा व्यक्त गर्दै ऐन जारी भएपछि संविधानमा व्यवस्था गरिएको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा महत्वपूर्ण सहजता आउने विश्वास व्यक्त गरे।

भेटका क्रममा गैरआवासीय नेपाली ऐनको शीघ्र पारित, एनआरएनका कानुनी तथा प्रशासनिक समस्याको समाधान तथा संविधान र कानुनले सुनिश्चित गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। साथै, नेपाल सरकार र विश्वभर रहेका नेपाली समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै नेपालको दीर्घकालीन विकास र समृद्धिमा संयुक्त रूपमा योगदान पुर्‍याउने प्रतिबद्धता दोहोर्याइएको थियो।

बैठकमा एनआरएनएले आफ्नो कल्याण विभागअन्तर्गत सञ्चालित गतिविधि तथा नागरिकता निरन्तरता समिति, पीएनओ समिति, गोर्खा समिति र कानुनी परामर्श तथा प्रशासनिक सहजीकरण समितिले गरिरहेका कार्यबारे जानकारी गराएको थियो। साथै, गैरआवासीय नेपाली सम्बन्धी विधेयक परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा प्रवासी समन्वय महाशाखामा पेश भइसकेको जानकारी दिँदै यसलाई सरकारको प्राथमिकतामा राखी यथाशीघ्र संसद्बाट पारित गर्न सहजीकरण गरिदिन आग्रह गरिएको थियो।

प्रतिनिधिमण्डलले बैंक खाता सञ्चालन, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लगायत तत्काल समाधान गर्न सकिने प्रशासनिक विषयहरू कार्यकारी निर्णयमार्फत सम्बोधन गर्न, गैरआवासीय नेपाली ऐनलाई शीघ्र पारित गर्न तथा संविधानमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था छिटो गर्न आग्रह गरेको थियो।

छलफलका क्रममा नेपाल विकास कोष तथा नेपाल धितोपत्र बोर्डसँग सम्बन्धित विषयहरू समेत उठाइएको थियो। एनआरएनएले वैदेशिक नेपालीको लगानी, ज्ञान हस्तान्तरण, परोपकारी तथा सामाजिक योगदान र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूको सहभागिता अझ प्रभावकारी बनाउन अनुकूल कानुनी तथा नीतिगत वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएको थियो। साथै, विधेयक संसद्मा पेश गर्नु अघि सरोकारवालासँग पर्याप्त परामर्श गर्नुपर्नेमा जोड दिइएको थियो।

भेटमा महान्यायाधिवक्ता नारायणदत्त कँडेल, नायब महान्यायाधिवक्ता खेमनारायण ज्ञवाली, सहन्यायाधिवक्ता मिना गुरुङ तथा उपन्यायाधिवक्ता प्रकाश घिमिरे सहभागी थिए। एनआरएनएका तर्फबाट महिला सह–कोषाध्यक्ष गंगा खतिवडा र महिला संयोजक रश्मी थापा सहभागी थिए।

धेरै पढिएको