काठमाडौँ । नेपाल बाल संगठन (बाल मन्दिर)सँग सम्बन्धित ठगी प्रकरणमा आठ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी कसुरअन्तर्गत मुद्दा दर्ता भएको छ।
अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा सम्बन्धित व्यक्तिविरुद्ध अदालतमा अभियोग दर्ता गरिएको हो।
मुद्दा दायर गरिएकामा नेपाल बाल संगठनका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ, तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य, युरीकुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपकदास श्रेष्ठ, प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति भगवान् शाक्य तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार रहेका छन्।
अभियुक्त बनाइएका आठ जनामध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्यलाई पक्राउ गरी कानुनी प्रक्रियामा ल्याइएको छ। बाँकी पाँच जनालाई भने फरार प्रतिवादी कायम गर्दै मुद्दा दर्ता गरिएको अदालत स्रोतले जनाएको छ।