गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) द्वारा हालै सार्वजनिक गरिएको प्रेस विज्ञप्तिप्रति एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) जापानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एनसीसी जापानका प्रवक्ता सचिन आचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा नेपाल फेस्टिवललाई सम्पूर्ण नेपालीहरूको साझा तथा महत्वपूर्ण उत्सवका रूपमा उल्लेख गरिएको छ। उनले यस कार्यक्रमलाई सफल बनाउन जापानस्थित सम्पूर्ण नेपाली समुदायको समान दायित्व रहेको बताए। सीमित स्रोतसाधन, जनशक्ति तथा व्यवस्थापकीय चुनौतीका बीच लाखौं सहभागी समेट्दै देश–विदेशबाट कलाकार तथा विशिष्ट पाहुनाहरू आमन्त्रण गरी यस्ता भव्य कार्यक्रम आयोजना गर्नु अत्यन्त चुनौतीपूर्ण कार्य भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा संस्थाका कुनै पनि पदाधिकारी, सदस्य वा अन्य व्यक्तिबाट झैँ–झगडा, होहल्ला वा अनुशासनहीन गतिविधि भई आपसी सद्भाव, शान्ति सुरक्षा तथा संस्थागत मर्यादा बिथोलिने कार्य भएमा त्यस्तो गतिविधिलाई गम्भीर रूपमा लिइने स्पष्ट पारिएको छ। यसले संस्थागत प्रतिष्ठामा आँच पुर्याउने र आधिकारिक कार्यक्रमलाई असर पार्ने बताइएको छ।
एनसीसी जापानले उक्त घटनासम्बन्धी हालसम्म कुनै पनि आधिकारिक जानकारी, लिखित उजुरी, अनुसन्धान प्रतिवेदन वा सम्बन्धित निकायबाट औपचारिक सूचना प्राप्त नभएको स्पष्ट पारेको छ। आधिकारिक तथ्य, प्रमाण वा सम्बन्धित पक्षको औपचारिक जानकारीबिना कुनै घटनाबारे संस्थागत धारणा सार्वजनिक गर्नु प्राकृतिक न्याय, निष्पक्षता तथा संस्थागत उत्तरदायित्वका सिद्धान्तविपरीत हुने विज्ञप्तिमा उल्लेख छ।
साथै, एनसीसी जापानले विधिको शासन, मानव मर्यादा, महिला सम्मान तथा प्रत्येक व्यक्तिको संवैधानिक एवं कानुनी अधिकारप्रति आफ्नो पूर्ण प्रतिबद्धता दोहोर्याएको छ। कुनै पनि आरोप वा घटनाको सत्यतथ्य सम्बन्धित अधिकारप्राप्त निकायबाट निष्पक्ष, स्वतन्त्र र प्रमाणमा आधारित अनुसन्धानमार्फत स्थापित हुनुपर्नेमा जोड दिइएको छ।
त्यसैले, आधिकारिक अनुसन्धान वा प्रमाणबिना कुनै व्यक्ति वा पक्षलाई दोषी वा निर्दोष ठहर गर्ने, पूर्वाग्रहपूर्ण धारणा बनाउने वा सार्वजनिक टिप्पणी गर्ने कार्यबाट संयम अपनाउन सबै पक्षसँग आग्रह गरिएको छ।
विज्ञप्तिमा थप भनिएको छ कि सम्बन्धित पक्ष वा अधिकारप्राप्त निकायबाट आधिकारिक रूपमा सूचना, उजुरी वा अनुसन्धानसम्बन्धी विवरण प्राप्त भएमा एनसीसी जापान आवश्यक सहयोग, समन्वय तथा कारबाहीका लागि पूर्ण रूपमा प्रतिबद्ध रहनेछ।
त्यसैगरी, भविष्यमा एनसीसी जापानसँग सम्बन्धित विषयमा कुनै पनि सार्वजनिक धारणा वा विज्ञप्ति जारी गर्नु अघि सम्बन्धित राष्ट्रिय समन्वय परिषद्सँग आवश्यक तथ्यगत समन्वय गरी मात्र आधिकारिक अभिव्यक्ति दिन पनि अनुरोध गरिएको छ।
