२ श्रावण २०८३, शनिबार
Follow Us

सभापति गगनलाई बदनाम गर्न अमेरिकामा ससुरा सक्रिय

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०८३, शनिबार ०५:५४

नेपाली जनसम्पर्क समिति,अमेरिकाको अधिवेशन संयोजक धनन्जयनरसिंह केसीका कारण अन्यौलमा परेको छ। केसीले अगष्ट १४,१५ र १६ तारिख भर्जिनियामा समितिको अधिवेशन गर्ने घोषणा गरेका थिए। तर आन्तरिक व्यवस्थापन,तयारी र पार्टीसंगको समन्वयमा देखिएको कठीनाईले अधिवेशन नहुनेमा आशंका बढेको समितिकै सदस्यहरुको भनाई छ।

नेपाली कांग्रेसको अमेरिकास्थित भात्री संस्थाको रुपमा क्रियाशील समितिको अधिवेशनका लागि हालसम्म कुनै ठोस काम अघि नबढेको बुझिएको छ। नेपाली कांग्रेसले करीब डेढ महिना पहिले केसीलाई संयोजक नियुक्त गरेर अधिवेशन सम्पन्न गर्ने जिम्मा दिएको हो। तर केसीले ‘काजी’ शैलीमा आफु खुशी निर्णय गरेर कांग्रेस सभापति गगन थापाको ससुरा पो हुँ भन्ने दम्भ देखाएको समितिमा उनैले नियुक्त गरेका सदस्यहरुको गुनासो छ।

अधिवेशनको लागि जम्बो तयारी समिति
संयोजक केसीले अधिवेशन सम्पन्न गर्न चुस्त र गतिशील तयारी समिति बनाउनुको सट्टा फेसबुकमार्फत २९ जनाको जम्बो समिति गठन गरेको घोषणा गरे, जसका कारण सुरुमै उनले समितिको स्थापित मान्यता र पार्टीको प्रक्रिया समेत मिचेको आरोपको सामना खेप्नु परेको छ। खासगरी आर्थिक मामिलामा संस्थालाई बदनाम गराएका निवर्तमान महासचिव मुनिन्द्र नेम्वाङ्ग र नयाँ पात्रको रुपमा एक्कासी प्रियारंजन दाहाललाई सह संयोजक बनाएको विषयले समितिकै अन्य सदस्यहरुले प्रश्न उठाए।

पहिलो बैठकदेखि नै अनन्त सुबेदी, सुवास लामा, शिव बानियाँ, टक रुवालीलगायतले आफुहरुको मनोनयनलाई पार्टी प्रक्रियाबाट अनुमोदन गराएर ल्याउनका लागि संयोजक केसीलाई ध्यानाकर्षण गराए। तर केसीले म नै जिम्मेवार हो,पार्टीले अनुमोदन गर्नु पर्दैन भन्दै टार्दै आए। पुराना सदस्यहरु बिनोद भट्ट, भगवान मैनाली, ज्ञानेन्द्र कार्कीलगायतले विगतमा संयोजकहरुले गठन गरेको समितिलाई कांग्रेस पार्टीले औपचारिक रुपमा अनुमोदन गरेर लेटर हेडमा नै नाम समावेश गरी जिम्मेवारी दिएको प्रमाण पेश गरेपछि केसीले आफुले प्रयास गर्ने भन्दै बचाउ त गरे तर आजका दिनसम्म पनि पार्टीबाट अनुमोदन गराउन नसकेपछि आफुहरुको बैधानिक हैसियत नै ‘फेसबुके मनोनयन’ भन्दै सदस्यहरुले असन्तुष्टी जनाएका छन्। यसका साथै स्थापित मान्यता र पार्टी पद्धतिको मर्यादा समेत मिलाउन नसकेको भन्दै केसीका प्रति समितिभित्र तीव्र असन्तुष्टी छ।

नेतृत्व मान्ने,आर्थिक हर हिसाब नबुझ्ने
संयोजक केसीले औपचारिक रुपमा गत जुन ७ तारिख निवर्तमान सभापति आनन्द विष्टबाट औपचारिक रुपमा कार्यभार ग्रहण गरे। त्यही बैठकमा विष्टले हाल समितिको खातामा एक लाख डलरभन्दा बढी रकम रहेको र ६० हजारभदा बढी डलर रकम नेपाली कांग्रेस पार्टीलाई बुझाउन बाँकी रहेको जानकारी समेत गराएका थिए। विष्टले बैठकमा बैंक विवरण समेत केसीलाई उपलब्ध गराउंदै बैंक खातामा हस्ताक्षर गर्दै आर्थिक कारोबारका लागि हर हिसाब र सम्पूर्ण विवरण बुझेर काम गर्न केसीलाई आग्रह गरेका थिए। तर केसीले हालसम्म सबै सदस्यहरुको विवरण बुझेको तर आफुले आर्थिक कारोबार नबुझ्ने अड्डी कसेका कारण पार्टीलाई पठाउनु पर्ने रकम पठाउने बारे कुनै पहल गरेका छैनन्।

गत जेष्ठ २८ मा पार्टी महामन्त्री प्रदीप पौडेलले कांग्रेस विधान अनुसार, सम्पूर्ण सदस्यहरुको शुल्क बुझाएर सदस्यता अनुमोदन गराउन भन्दै समितिलाई पत्राचार गरेका थिए। शुल्क प्राप्त नभएसम्म सदस्यता अनुमोदन र अधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने सोही परिपत्रमा प्रष्ट उल्लेख थियो। तर संयोजक केसीले सदस्य विवरण बुझ्ने तर आफुले आर्थिक हर हिसाब नबुझ्ने भन्दै अड्डी कसेका कारण आजसम्म पार्टीमा पठाइएको सदस्यहरुको उधारो संख्या अनुमोदन हुन सकेको छैन। पार्टीले अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोक्ने,प्रमूख अतिथि तोक्ने,केन्द्रीय निर्वाचन प्रतिनिधि तोक्ने र समितिले केन्द्रीय समिति बैठकबाट पास गरी प्रस्ताव गरेको मिति र स्थान अनुमोदन गर्ने बैधानिक प्रक्रिया छ। तर घोषणा गरिएको अधिवेशनको स्थान समेत सार्वजनिक नगरी बसेका कारण आजसम्म अब यति छोटो समयमा कसरी अधिवेशन हुन सक्छ भन्ने गंभीर चासो सदस्यहरुले व्यक्त गरेका छन्।

‘सबै काम सकिएको थियो,गत डिसेम्वरमा सबै २६ च्याप्टरमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन र केन्द्रीय प्रतिनिधि समेत चयन भैसकेको अवस्थामा नयाँ संयोजक तोक्नु नै पार्टीको गलत निर्णय भयो,त्यसमाथि आफु गगन थापाको ससुरा भन्दै संयोजक केसीले रवाफ देखाउने तर प्रक्रियागत काम केही नगर्ने कारण अब अधिवेशन होला भन्ने आशा मरेको छ’ समितिकै एक सदस्यले बताए।

समितिका एक सदस्य विनोद भट्टले संयोजकको कार्यशैलीले धेरै अन्यौल बढेको भन्दै अधिवेशन जसरी पनि गर्ने धम्कीले संगठन तहस नहस हुने चिन्ता व्यक्त गरे। ‘सदस्यता शुल्क बुझाएको जानकारी छैन, तयारी समिति अनुमोदन गरेको छैन, अधिवेशनको मिति,स्थान अनि पार्टी पक्रिया विपरितआफैं गठन गरेको निर्वाचन समिति लगायतका गतिविधि पार्टी प्रक्रिया विपरित, तयारी समितिमा छलफल नगरी संयोजकको व्यक्तिगत फेसबुकबाट सार्वजनिक गरिएको छ, यसका बारे मैले बैठकमा पनि बोलेर असन्तुष्टी जनाई सकेको छु, अरु साथीहरुले पनि संयोजकको यो शैलीका प्रति गुनासो गरेका छन्, तर केही भएको छैन’ सदस्य भट्टले हामीसंग भने।

संयोजक केसीले पार्टी विधान विपरित एकलौटी ढंगले फेसबुकमार्फत निर्वाचन समितिको घोषणा गरेका थिए। जसको जवाफस्वरुप नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले औपचह्रिक पत्राचार नै गरेर जनसम्पर्क समितिले केन्द्रीय निर्वाचन समितिले तोकेको निर्वाचन प्रतिनिधिको रोहबरमा अधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न गर्नुपर्ने प्रष्ट निर्देशनपछि केसीले आफ्ना अत्यन्त विश्वासपात्र भक्त थापालाई कुनै एक अमुक व्यक्तिलाई जिताउने उद्देश्यसहित निर्वाचन समिति प्रमूख बनाएर दिएको जिम्मेवारी पनि विवादमा परेको छ।

‘हामी विधि,विधान,प्रक्रिया र पार्टीको स्थापित मान्यता,मर्यादासहित प्रक्रिया मिलाएर अधिवेशन गर्नुपर्छ भन्नेमा छौं त संयोजक चाहिं जसरी पनि हुन्छ भन्नुहुन्छ जसले अन्यौल बढाएको छ’ भट्टको भनाइ छ।

धेरै पढिएको