लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले निर्वाचित भएको तीन महिनापछि आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। संघको नेतृत्व हासिल गर्न करोडौं रुपैयाँ खर्च गर्ने चलनलाई तोड्दै उनले जम्मा करिब ३३ लाख रुपैयाँ मात्र खर्च भएको विवरण सार्वजनिक गरेका छन्, जसलाई ऐतिहासमै कम खर्चिलो चुनावका रूपमा हेरिएको छ।
आइतबार सार्वजनिक गरिएको संक्षिप्त आर्थिक विवरणअनुसार सन् २०२६ को सुरुवाती महिनाहरूमा गरिएको अन्तर्राष्ट्रिय भ्रमण तथा नेपालभित्रको निर्वाचन गतिविधिमा भएको खर्च समेटिएको छ।
जनवरी २०२६ मा यूके, जापान, कोरिया, हङकङ, मकाउ, मलेसिया हुँदै नेपाल र पुनः यूकेसम्मको भ्रमणमा करिब ४ लाख २१ हजार रुपैयाँ खर्च भएको उल्लेख छ। त्यस्तै फेब्रुअरीमा यूके–बहराइन–साउदी अरेबिया–कतार–यूएई भ्रमणमा करिब ३ लाख ७० हजार रुपैयाँ खर्च गरिएको देखिन्छ।
मार्च महिनामा “नेपाल भ्रमण तथा निर्वाचन” शीर्षकमा खर्च उल्लेखनीय रूपमा बढेको छ। यसअन्तर्गत हवाई टिकट, प्रचार सामग्री, मनोनयन शुल्क, लेभी, एनआरएन सचिवालय शुल्क तथा विभिन्न योगदानहरूमा लाखौँ रुपैयाँ खर्च गरिएको छ। होटल खर्च मात्रै करिब ४ लाख २७ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ।
यसैबीच फ्रान्स–लक्जेम्बर्ग, बेल्जियम–नेदरल्याण्ड्स तथा आयरल्याण्ड भ्रमणमा समेत थप खर्च भएको छ। समग्रमा यी सबै गतिविधिहरूमा करिब ३३ लाख रुपैयाँभन्दा बढी खर्च भएको देखिन्छ।
पारदर्शिता र उत्तरदायित्वमा जोड
खर्च सार्वजनिक गर्दै डा. शर्माले एनआरएनएलाई पारदर्शी र उत्तरदायी संस्था बनाउने प्रतिबद्धता दोहोर्याएका छन्। उनले त्रैमासिक आर्थिक प्रतिवेदन संघको वेबसाइटमार्फत सार्वजनिक गरिएको र सन् २०१९ यताका प्रतिवेदनहरू क्रमशः सार्वजनिक गरिने जानकारी दिए।
उनले भने,“एनआरएनएका पदाधिकारीहरूले संघबाट कुनै आर्थिक लाभ लिँदैनन्। सचिवालयमा सामान्य चिया–कफी बाहेक अन्य सबै व्यक्तिगत खर्च आफ्नै खल्तीबाट व्यहोर्नुपर्छ।”
डा. शर्माका अनुसार उनले निर्वाचन तयारीदेखि मे महिनासम्मको करिब पाँच महिनामा भएको आफ्नो सम्पूर्ण व्यक्तिगत खर्च सार्वजनिक गरेका हुन्। “अन्य उम्मेदवारहरूको तुलनामा मेरो खर्च न्यूनतम छ। मैले इकोनोमी क्लासको यात्रा, साधारण होटल र सामान्य खानपानमै सीमित खर्च गरेको छु,” उनले बताए।
उनले थपे, “संस्थाका लागि आफ्नै समय र पैसा खर्च गर्ने हजारौँ कार्यकर्ता छन्। उनीहरूको आर्थिक तथा समयको योगदान जोड्दा महिनामै करोडौँ रुपैयाँ बराबरको योगदान हुन्छ, जसको मूल्यांकन अझै धेरै छ।”
