लण्डन । नेपाली हिन्दू महिलाहरूको प्रमुख पर्व हरितालिका तीज लण्डनमा उल्लास र भक्तिभावका साथ मनाइएको छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजका अवसरमा लण्डनको साउथहलस्थित विश्व हिन्दू मन्दिरमा आयोजित विशेष कार्यक्रममा नेपाली महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
तीजका अवसरमा व्रतालु महिलाहरूले भगवान् शिव र माता पार्वतीको विधिपूर्वक पूजा–आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा कल्याणको कामना गरेका थिए। धार्मिक परम्पराअनुसार तीजमा निराहार व्रत बसेर शिव–पार्वतीको पूजा आराधना गरे मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ।
विश्व हिन्दू मन्दिरमा आयोजित कार्यक्रममा पण्डितद्वय चिरञ्जीवी ढकाल र शेखर काफ्लेले सहभागी भक्तालुहरूलाई विधिपूर्वक पूजा–आराधना गराएका थिए। सो अवसरमा सत्ययुगमा पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न आजकै दिन कठोर व्रत बसेको धार्मिक प्रसङ्गसमेत पाठ तथा प्रवचनमार्फत स्मरण गरिएको थियो।
पूजा–आराधनासँगै कार्यक्रममा तीजका मौलिक सांस्कृतिक पक्षलाई समेत प्राथमिकता दिइएको थियो। विशाल तामाङको टिमले सांगीतिक तथा डिजे व्यवस्थापन गरेको कार्यक्रममा नेपाली लोकप्रिय तीज गीतहरूमा महिलाहरूले नाचगान गर्दै उत्सवको आनन्द लिएका थिए।
कार्यक्रमस्थलमा रातो सारी, चुरा, पोते तथा विभिन्न परम्परागत गरगहनामा सजिएका महिलाहरूको उपस्थितिले मन्दिर परिसरलाई थप आकर्षक र उत्सवमय बनाएको थियो। तीजका गीत र नृत्यसँगै सहभागीहरूले आपसमा शुभकामना आदानप्रदान गर्दै नेपाली संस्कृति र परम्परालाई प्रवासमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
तीजको अवसरमा लण्डनका विभिन्न शिवालयहरूमा समेत बिहानैदेखि भक्तालुहरूको घुइँचो लागेको थियो। प्लमस्टेडस्थित पशुपतिनाथ मन्दिर, अल्डरसट, बर्मिङ्घम तथा साउथहलको किङ्ग्स स्ट्रीटलगायतका क्षेत्रमा रहेका शिवालयहरूमा नेपाली महिला भक्तालुहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।
विदेशमा रहेर पनि नेपाली महिलाहरूले तीजको धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएका छन्। यस्ता कार्यक्रमले नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति, पर्व र परम्परासँग जोड्नसमेत महत्वपूर्ण भूमिका खेल्ने आयोजकहरूको भनाइ छ।










