१ आश्विन २०८३, बिहीबार
Follow Us

नेपालको पूर्वाधार विकासमा डायस्पोराको लगानीबारे भर्चुअल अन्तरक्रिया हुने

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०८३, बिहीबार १६:०७

काठमाडौँ — नेपालको पुनर्निर्माण, भौतिक पूर्वाधार तथा विकास निर्माणमा गैरआवासीय नेपाली (एनआरएन) तथा डायस्पोराको लगानी र भूमिकाबारे विशेष भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।

‘डायस्पोरा इन्भेस्टमेन्ट लिमिटेड कम्पनी’को आयोजनामा आगामी सेप्टेम्बर १९, २०२६ (शनिबार) साँझ ७ बजे नेपाली समय जुममार्फत कार्यक्रम आयोजना हुन लागेको हो। कार्यक्रममा अमेरिका, युरोप तथा अफ्रिकालगायत विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपाली डायस्पोराको सहभागिता रहने जनाइएको छ।

कार्यक्रममा कम्पनीको अवधारणा, उद्देश्य, लगानीको मोडल तथा आगामी लगानी योजनाबारे जानकारी दिइनेछ। साथै, नेपालको समग्र आर्थिक विकास, पूर्वाधार निर्माण तथा पूँजी परिचालनमा डायस्पोराले खेल्न सक्ने भूमिकाबारे पनि छलफल गरिने आयोजकले जनाएको छ।

डायस्पोरा लगानी कम्पनीको मोडल के हो?

कम्पनीका अनुसार गैरआवासीय नेपालीको पूँजीलाई नेपालको विकाससँग जोड्ने उद्देश्य भए पनि यसको लगानी संरचना अन्य विकास कोषभन्दा केही फरक रहनेछ।

हाल नेपाली नागरिकताको आधारमा लगानी गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ। निकट भविष्यमा विदेशबाट लगानी गरिएको रकम फिर्ता लैजान नपाउने शर्तसहित एनआरएन परिचयपत्रका आधारमा पनि लगानी खुला गर्ने योजना रहेको बताइएको छ।

कम्पनीका अनुसार लगानी गर्न अनिवार्य रूपमा विदेशबाट रकम पठाउनुपर्ने छैन। नेपालभित्र वैधानिक रूपमा रहेको रकमबाट समेत लगानी गर्न सकिनेछ। भविष्यमा कम्पनीको सेयर सेकेन्डरी मार्केटमा सूचीकृत भएपछि नेपालमा बसोबास गर्ने सर्वसाधारण नेपालीले समेत सेयर किनबेच गर्न सक्ने व्यवस्था गरिने जनाइएको छ।

कम्पनीले आफ्नो मोडललाई दीर्घकालीन पूँजी निर्माण र नेपालभित्रै पुनःलगानी गर्ने अवधारणामा आधारित रहेको जनाएको छ। त्यसैले लगानीको प्रतिफल वा मुनाफा विदेश लैजान सकिने ‘रिप्याट्रिएसन’ सुविधा भने नरहने बताइएको छ।

कार्यक्रममा सहभागी हुन आह्वान

कार्यक्रममा कम्पनीका अध्यक्ष महेश कुमार श्रेष्ठ, सञ्चालकहरू जिबा लामिछाने, रबिन शेरचन, राज रेग्मी र सपना सापकोटा, स्वतन्त्र सञ्चालक दीपेश खनाल तथा बिजनेस डाइरेक्टर उषा खतिवडालगायतको सहभागिता रहनेछ।

आयोजकले डायस्पोरा लगानी, नेपालको पूर्वाधार विकास र पूँजी परिचालनमा चासो राख्ने इच्छुक तथा सम्भावित लगानीकर्तालाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।

कार्यक्रम विवरण:

मिति: सेप्टेम्बर १९, २०२६ (शनिबार)
समय: साँझ ७:०० बजे (नेपाली समय)
माध्यम: Zoom Meeting
Meeting ID: 867 4041 5213
Passcode: 443944

धेरै पढिएको