१ आश्विन २०८३, बिहीबार
Follow Us

खरेल दाजुभाइद्वारा बाढीपीडितलाई २० लाख ११ हजार सहयोग

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०८३, बिहीबार २१:०९

लन्डन । भोटेकोशी बाढीपीडितका लागि बेलायतस्थित व्यवसायी दाजुभाइ विष्णु र गोकुल खरेलले आर्थिक सहयोग गरेका छन्।

इंग्ल्यान्डको सरे, ह्याम्पसायर र ससेक्स काउन्टीको सीमा क्षेत्रमा पर्ने हेजलमेरस्थित ‘दिल्ली’ र ग्रेसटस्थित ‘द बेलिफ’ रेस्टुरेन्टमा भएको एक दिनको आम्दानी २० लाख ११ हजार ५ सय ४० रुपैयाँ ५० पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको व्यवसायी विष्णु खरेलले जानकारी दिए।

ती दुवै रेस्टुरेन्टमा विष्णु खरेलसँगै उनका दाजु गोकुल खरेलको समेत लगानी रहेको छ।

सञ्चालक विष्णु खरेलका अनुसार बाढीपछि गत ६ सेप्टेम्बरमा रेस्टुरेन्टमा च्यारिटी कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रमबाट संकलित रकम बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको हो।

खरेलले दुःखको घडीमा जन्मभूमिका नागरिकलाई सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताए।

“दुःखको घडीमा आफ्नो जन्मभूमिका लागि सक्दो सहयोग गर्नु मेरो कर्तव्य हो। त्यसैले मैले कुनै विशेष काम गरेको होइन—आफ्नो दायित्व मात्र पूरा गरेको हुँ। यस अभियानमा साथ दिनुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।”

खरेल गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सदस्यसमेत हुन्।

धेरै पढिएको