संगठन सञ्चालनको शैली र आवश्यक परे पार्टीको नाम परिवर्तन गरौं
नेकपा (एमाले) का नेता डा. सूर्य पाठकले पार्टी अब यथास्थितिमा चल्न नसक्ने भन्दै नीति, कार्यक्रम, संगठन सञ्चालनको शैली, कार्यशैली र आवश्यक परे पार्टीको नामसमेत पुनर्विचार गर्नुपर्ने बताएका छन्।
केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै पाठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनको पृष्ठ ७८ मा उल्लेख भएको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी विषयप्रति असहमति जनाउँदै एमाले त्यसको पक्षमा जान नहुने बताए।
“नेकपा (एमाले) प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा जानु हुँदैन। यसले पार्टीलाई गम्भीर राजनीतिक क्षति पुर्याउन सक्छ। त्यसैले यसलाई हाम्रो पार्टीको राजनीतिक एजेन्डा बनाउनु उचित हुँदैन,” उनले भने।
पाठकले पार्टीको चुनावी समीक्षा तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलले देशभरका कार्यकर्ताबाट संकलन गरेको सुझाव र प्रतिवेदन केन्द्रीय कमिटीमा गम्भीरतापूर्वक छलफल गर्नुपर्नेमा जोड दिए।
“तलका कार्यकर्ताले दिएका सुझावहरू केन्द्रीय कमिटीमा छलफल नै भएनन् भने कार्यकर्ताले ‘हामीले दिएका सुझाव पार्टीले सुनेन, हाम्रा कुरा स्वीकार गरिएनन्’ भन्ने बुझ्न सक्छन्,” उनले भने, “यसले पार्टी केन्द्र र कार्यकर्ताबीच थप अविश्वास पैदा गर्न सक्छ।”
पाठकले एमालेको जनमत खस्किएको तथा महिला, युवा र विद्यार्थीबीच पार्टीको समर्थन, सहभागिता र आकर्षण कमजोर भएको दाबी गर्दै यथार्थपरक समीक्षा आवश्यक रहेको बताए।
“जहाँ समस्या छ, त्यहाँ समस्या छ भन्न सक्नुपर्छ। यथार्थलाई ढाकछोप गरेर सही निष्कर्षमा पुग्न सकिँदैन,” उनले भने।
उनले एमालेको विगतको वैचारिक यात्रालाई स्मरण गर्दै १९९० को दशकमा विश्व कम्युनिस्ट आन्दोलनमा आएको संकटका बेला मदन भण्डारीले वैचारिक पुनर्गठनमार्फत नयाँ बाटो देखाएको उल्लेख गरे।
“त्यही वैचारिक आधारमा हामीले विगत तीन दशक नेपालको वामपन्थी आन्दोलनलाई अनेकौँ प्रतिकूलताका बाबजुद अगाडि बढायौँ। त्यही आधारमा हामी प्रधानमन्त्री, मन्त्री र सांसद भयौँ,” पाठकले भने।
हालको संकट एमालेको मात्र नभई समग्र नेपाली वामपन्थी आन्दोलनकै संकट भएको उनको भनाइ थियो।
उनले पार्टीलाई नयाँ राजनीतिक परिस्थितिअनुकूल बनाउन नीति, कार्यक्रम, संगठन सञ्चालनको शैली र कार्यशैलीमा पुनर्विचारको आवश्यक रहेको बताए।
“आजको युवा पुस्ता र भावी पुस्तालाई पार्टीसँग जोडिराख्ने हो भने पार्टीको नामसमेत पुनर्विचार गर्ने विषयमा गम्भीर बहस आवश्यक छ,” पाठकले भने।