१७ आश्विन २०८३, शनिबार
Follow Us

जनसम्पर्क समिति कलस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने शालिकराम गौतमको घोषणा

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०८३, शनिबार १८:४६

नेपाली कांग्रेसका युवा नेता शालिकराम गौतमले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । असोज १८ गतेबाट हुने १५औँ महाधिवेशनमा ‘जन सम्पर्क समिति’ कलस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने नेता गौतमले लोकान्तरलाई जानकारी दिए । हाल उनी नेदरल्याण्डबाट महाधिवेशन प्रतिनिधि छन् । पार्टीलाई समयसापेक्ष, गतिशील र युग सुहाउँदो बनाउनका लागि आफूले उम्मेदवारी दिन लागेको उनले बताए । ‘रूपान्तरित तथा युवाको बाहुल्यता रहेको पार्टीलाई समयसापेक्ष, गतिशील र युग सुहाउँदो बनाउने उद्देश्यसहित उम्मेदवारी दिने निर्णयमा पुगेको छु‚’ उनले भने ।

२०३८ सालमा बागलुङमा जन्मेका गौतम विद्यार्थी जीवनमै कांग्रेसको नीति विचारसँग आबद्ध भएका हुन् । उनको राजनीतिक यात्रा श्री महाजन माध्यमिक विद्यालय बागलुङमा इकाई अध्यक्ष हुँदै शुरू भएको हो ।

राजनीतिको यात्रा उनी नेपाली कांग्रेस बेल्जियम जनसम्पर्क समितिको महामन्त्रीसम्म भए । रेस्टुरेन्ट व्यवसायमा संलग्न उनी नेदरल्याण्ड पुगेपछि त्यहाँ जनसम्पर्क समिति महामन्त्री र पछि सभापति बनेका थिए ।

उनी पार्टीको १३ औँ महाधिवेशनमा नेदरल्यान्डबाट महाधिवेशन प्रतिनिधि तथा १४ औँ महाधिवेशनमा पनि महासमिति सदस्य भएका थिए । सुशील कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवालगायतसँग निकट सम्बन्ध बनाएका उनी पार्टीको विशेष महाधिवेशनका अभियन्ता समेत हुन् ।

‘मेरो उमेर र अनुभव पार्टीमा लगानी गर्ने मन छ, कर्मभूमिमा बसेर जन्मभूमिको सेवा गर्ने मन छ‚’ उनले थपे ।

धेरै पढिएको