रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१, थुमनका बाढी प्रभावित १३८ परिवारलाई राहत सामग्री वितरण गरिएको छ। नेपाल डेभलपमेन्ट एकेडेमी (NDA), Stichting Nepal Fonds र Liverpool Nepali Society को समेत आर्थिक सहयोगमा हेलिकप्टरमार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याई वितरण गरिएको हो। राहत वितरणका लागि एनआरएनए महिला उपाध्यक्ष राधिका गुरुङ (टिका) र एनआरएनए नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष शशी पौडेल प्रभावित स्थानमै पुग्नुभएको थियो। स्थानीय सरकारसँगको समन्वयमा प्रभावित परिवारको आवश्यकता पहिचान गरी राहत सामग्री वितरण गरिएको हो।
बाढी प्रभावित मनाङवासीलाई राहत वितरणको पहल
मनाङ जिल्लाको नासोँ गाउँपालिका वडा नं १,ताल गाउँमा गत असोज ८ देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित परिवारहरूलाई राहत सामग्री पुर्याउने तयारी गरिएको छ। स्थानीय तहसँग छलफल र समन्वयपछि आवश्यकता अनुसार राहत लैजाने तयारी गरिएको हो।
गत भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको छ। भोटेकोशी-रसुवा बाढी २०२६ को वित्तीय प्रतिवेदनअनुसार यस अभियानका लागि कुल ९ करोड ३९ लाख ६६ हजार २२६ रुपैयाँ प्रतिबद्धता प्राप्त भएकोमा हाल ६ करोड ६५ लाख ८८ हजार ९६० रुपैयाँ संकलन भएको छ।

