शेख हसिनाको गृहनगरमा अवामी लिगका कार्यकर्ताको हिंसात्मक प्रदर्शन
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा आइतबार अवामी लिगका नेता तथा कार्यकर्ताले प्रदर्शनका क्रममा प्रदर्शन गरेका छन । उनीहरूले प्रहरीका अवरोध तोड्दै सहरका विभिन्न सडकमा जुलुस निकालेका थिए ।
प्रदर्शनका क्रममा प्रहरीको सशस्त्र गाडी, प्रहरी चौकी र सार्वजनिक संरचनामा क्षति पुर्याइएको छ । बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारीले गोपालगञ्ज सहरमा रहेको जुलाई स्मारक र गोपालगञ्ज विज्ञान तथा प्रविधि विश्वविद्यालय परिसरको हादी चोकको नामपट्टिकासमेत तोडफोड गरेका छन् ।
केही सरकारी संरचनाका नामपट्टिका हटाएर पुराना नाम समेत राखिएको छ । प्रदर्शनकारीले सडकमा टायर बालेर यातायातसमेत अवरुद्ध गरेका थिए । प्रदर्शनमा सहभागी कतिपयले खुकुरी, भाला, बन्चरो, लाठी र डुंगा चलाउन प्रयोग गरिने काठका डाँडाजस्ता स्थानीय हतियार बोकेका थिए ।
उनीहरूले पूर्वप्रधानमन्त्री हसिना र अवामी लिगको समर्थनमा नाराबाजी गरेका थिए । द डेली स्टारका अनुसार आइतबार बिहानैदेखि जिल्लाका विभिन्न क्षेत्रबाट मोटरसाइकल, रिक्सा, बस र ट्रकमा प्रदर्शनकारी गोपालगञ्ज सहर आइपुगेका थिए । उनीहरू दिउँसो १२ बजेतिर बीएसआईसी पुल क्षेत्रबाट जुलुससहित निस्किएका थिए ।
प्रदर्शन दिउँसो करिब १: ४५ बजेसम्म चलेको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीका गाडीमा तोडफोड गरिएको थियो । प्रदर्शनकारीले टायर र अन्य सामग्रीमा आगो लगाएका थिए ।

