अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीको अति गोप्य सञ्चार सञ्जाल बन्द
अमेरिका । अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले आन्तरिक सञ्चारका लागि प्रयोग गर्दै आएको अत्यन्त गोप्य सञ्जाल अस्थायी रूपमा बन्द भएको छ। यस विषयमा जानकारी राख्ने छ जना स्रोतलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ।
एनएसएको आन्तरिक सञ्चार सञ्जाल ‘एनएसएनेट’ मार्फत एजेन्सीका कर्मचारीहरूले गोप्य तथा संवेदनशील राष्ट्रिय सुरक्षा सूचनाहरू आदानप्रदान गर्दै आएका छन्। सञ्जाल बन्द भएपछि यसको प्रभाव र समस्या समाधानका लागि एजेन्सीले आवश्यक प्रक्रिया अघि बढाएको छ। यद्यपि, अहिलेसम्म उक्त घटनामा साइबर आक्रमण भएको कुनै प्रमाण फेला नपरेको स्रोतहरूले बताएका छन्।
अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनका अनुसार गत महिना पत्ता लागेका गम्भीर सफ्टवेयर सुरक्षा कमजोरी समाधान गर्न नयाँ सुरक्षा अद्यावधिक लागू गर्ने क्रममा समस्या उत्पन्न भएको हो। सुरक्षा अद्यावधिक गरेपछि केही प्रणाली अपेक्षाअनुसार पुनः सञ्चालनमा आउन नसकेको उनले बताएका छन्।
क्लेटनले मङ्गलबार फक्स बिजनेससँग कुरा गर्दै एनएसएको सञ्जालमा देखिएको समस्या सफ्टवेयर अद्यावधिक प्रक्रियासँग सम्बन्धित रहेको स्पष्ट पारेका थिए।
समस्या पीएचपी नामक प्रोग्रामिङ भाषामा देखिएका सुरक्षा कमजोरीसँग सम्बन्धित छ। विश्वका करिब ७० प्रतिशत वेबसाइटमा प्रयोग हुने यस प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी पत्ता लागेपछि विश्वभरका सरकारी निकाय तथा निजी कम्पनीहरूले आफ्नो प्रणाली सुरक्षित बनाउन सुरक्षा अद्यावधिक लागू गर्न थालेका थिए। ती कमजोरीको पहिचान तथा सम्भावित दुरुपयोगको अनुसन्धानमा कृत्रिम बुद्धिमत्ता प्रविधिको समेत प्रयोग गरिएको थियो।
एनएसएले मङ्गलबार जारी गरेको विज्ञप्तिमा नियमित मर्मतसम्भारका क्रममा आफ्नो प्रणालीमा अस्थायी प्राविधिक समस्या आएको स्वीकार गरेको छ। केही आन्तरिक प्रणाली प्रभावित भए पनि राष्ट्रिय सुरक्षाका लागि अत्यावश्यक क्षमताहरू पूर्ण रूपमा सञ्चालनमा रहेको एजेन्सीले जनाएको छ।
एजेन्सीले आफ्नो पूर्वाधारमा विभिन्न तहका वैकल्पिक सुरक्षा तथा सञ्चालन प्रणाली रहेकाले नियमित मर्मतसम्भार वा अप्रत्याशित प्राविधिक समस्या उत्पन्न हुँदा पनि राष्ट्रिय सुरक्षासम्बन्धी काम जारी राख्न सकिने दाबी गरेको छ।
सञ्जालमा समस्या आएपछि एनएसएले कर्मचारीहरूलाई फरक–फरक समयमा कार्यालय आउन निर्देशन दिएको थियो। पछि मङ्गलबार साँझदेखि नियमित कार्यतालिका पुनः लागू गरिएको स्रोतहरूले बताएका छन्। यद्यपि, सञ्जाल पूर्ण रूपमा पुनःस्थापना गर्ने काम जारी रहेको र त्यसबेला पनि प्रक्रिया सम्पन्न नभइसकेको एक स्रोतले सीएनएनलाई जानकारी दिएको छ।
अमेरिकाको राष्ट्रिय सुरक्षा तथा गुप्तचर गतिविधिका लागि अत्यन्त महत्वपूर्ण मानिने सञ्चार सञ्जालमा देखिएको यस अवरोधले संवेदनशील सरकारी प्रणालीमा सफ्टवेयर अद्यावधिक गर्दा उत्पन्न हुन सक्ने प्राविधिक जोखिमलाई उजागर गरेको छ।

