खेल

राजारानीमा भेट्रान फुटबलमा बेलायतको टोली सहभागी

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–राजारानीमा चौथो ‘स्व. ज्ञानबहादुर तथा बुद्धिमाया लिम्बू स्मृति अन्तर्राष्ट्रिय हाम्रो राजारानी भेट्रान फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ।

हाम्रो राजारानी भेट्रान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपाल, भारत र बेलायतका गरी ८ वटा भेट्रान फुटबल टोली सहभागी हुनेछन्। प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ३५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले ७१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ।

आयोजकले सार्वजनिक गरेको खेल तालिकाअनुसार मंसिर ५ गते प्रतियोगिताको उद्घाटन हुनेछ। उद्घाटन खेलमा दिउँसो १२ बजे आयोजक हाम्रो राजारानी भेट्रान एफसी र सतिसाले भेट्रान एफसी केरावारी, मोरङबीच प्रतिस्पर्धा हुनेछ। सोही दिन दिउँसो २:३० बजे हाम्रो इटहरी भेट्रान एफसी, सुनसरी र धरान सिटी भेट्रान एफसीबीच दोस्रो खेल हुनेछ।

त्यस्तै, मंसिर ६ गते दिउँसो १२ बजे बेलायतको यूके भेट्रान एफसी र मोरङको एभरेस्ट भेट्रानबीच प्रतिस्पर्धा हुनेछ। सोही दिन दिउँसो २:३० बजे भारतको सिक्किमस्थित जेभीसी सिङ्ताम भेट्रान एफसी र झापाको दुधे भेट्रान क्लबबीच खेल हुनेछ। प्रतियोगिताको सेमिफाइनल खेल मंसिर ७ गते र फाइनल खेल मंसिर ८ गते आयोजना हुनेछ।

राजारानी क्षेत्रमा भेट्रान फुटबलको विकास तथा खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस प्रतियोगितामा भारत र बेलायतका टोलीसमेत सहभागी हुने भएपछि प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरूप दिइएको छ।

प्रतियोगिताको मुख्य प्रायोजक गोरखा स्टुडियो रहेको छ भने चौबिसे गाउँपालिका संरक्षक रहेको छ। त्यस्तै, बजार व्यवस्थापन समिति राजारानी सहप्रायोजक तथा चौबिसे गाउँपालिकाका वडा कार्यालयहरू सहयोगी संस्थाका रूपमा रहेका छन्।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम