१८ कार्तिक २०८२, मंगलवार
Follow Us

अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला गलकोटमा हुने

nepalbritain news
६ बैशाख २०७५, बिहीबार ०५:०१

बागलुङ- गलकोट नगरपालिका–५, टेउवामा अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला हुने भएको छ ।

गलकोट कला प्रतिष्ठानले कार्यशाला चलाउन पूर्वाधार तयारीको काम अघि बढाएको छ । देश विदेशका मूर्तिकार सहभागी हुने कार्यशाला यसै वर्ष गर्ने योजना रहेको प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताउनुभयो । मूर्तिकलाका कृतिको संग्रहालय बनाउन कार्यशाला गर्न लागिएको हो । कार्यशाला स्थलमा जग्गा व्यवस्थापन, सडक र शौचालय निर्माणको काम भइसकेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका सदस्य झङ्कबहादुर बस्नेतले सात रोपनी जग्गा प्रतिष्ठानलाई निःशुल्क प्रदान गर्नुभएको छ । अन्य निजी र सार्वजनिक गरी २५ रोपनी जग्गा प्रतिष्ठानको नाममा ल्याउन प्रक्रिया शुरु भएको छ । पूर्वाधार र बजेटको जोहो हुनासाथ कार्यशाला राखिने अध्यक्ष रानाले बताउनुभयो ।

“तीन करोड खर्च लाग्ने अनुमान छ,” उहाँले भन्नुभयो “पूर्वाधार निर्माणका धेरै काम गर्न बाँकी छ ।” उहाँले राज्य र निजी क्षेत्रको सहयोगले मात्र कार्यशाला सफल हुने धारणा राख्नुभयो ।

कार्यशालाका मुख्य योजनाकार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ ओम खत्रीले कार्यशालामा सिर्जित मूर्ति संग्रहालयमा राखिने बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रियस्तरमा ख्याति आर्जन गरेका मूर्तिकारले कार्यशालास्थलमै बसेर मूर्तिकलाका कृति सिर्जना गर्नेछन् । “कार्यशालामा सहभागिताका लागि अन्तर्राष्ट्रिय स्तरमा आह्वान गर्छौं” खत्रीले भन्नुभयो “दरखास्त हाल्नेमध्येबाट छनोटमा परेका मूर्तिकार मात्र कार्यशालामा सहभागी हुनुहुनेछ ।”

अन्तर्राष्ट्रिय मूर्तिकारको संस्थामा समेत आबद्ध रहनुभएका खत्रीले कार्यशालामा न्यूनतम पनि १० जना विदेशी र पाँचजना नेपाली मूर्तिकार सहभागी हुने बताउनुभयो । कार्यशालास्थललाई अन्तर्राष्ट्रियस्तरको मूर्तिकला संग्रहालय बनाउने प्रतिष्ठानको लक्ष्य छ । मूर्तिकारले कार्यशालामा बसेर प्रत्यक्ष रुपमा सिर्जना गरेका मूर्तिकलाका कृति संग्रहालयमा रहनेछन् । उक्त संग्रहालय देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने प्रतिष्ठानका अध्यक्ष रानाको भनाइ छ ।

“मूर्तिकारको कला प्रत्यक्षरुपमा अवलोकन गर्ने अवसर पनि मिल्नेछ” अध्यक्ष रानाले भन्नुभयो “देश, विदेशका मूर्तिकारका अमूल्य कलाकृति संग्रहित हुँदा यसले पर्यटकलाई पनि आकर्षित गर्छ ।” उक्त संग्रहालय कलाकार, अनसुन्धानकर्मी, विद्यार्थी, कलाप्रेमीलगायतलाई अध्ययन अनुसन्धानको केन्द्रसमेत बन्ने ठानिएको छ । प्रतिष्ठानले पूर्वाधार र मूर्तिकला कार्यशालाका लागि करीब रु तीन करोड खर्च लाग्ने अनुमान गरेको छ जसमध्ये रु डेढ करोड कार्यशालामा मात्र खर्च हुने जनाइएको छ ।

कलाकार ल्याउन, राख्न लाग्ने सबै खर्चको व्यवस्थापन प्रतिष्ठानले गर्ने अध्यक्ष रानाले जानकारी दिनुभयो । करीब १५ दिनदेखि एक महिनासम्मको अवधिसम्म कार्यशाला चल्ने जनाइएको छ । मूर्तिकारले स्थानीय ढुंगाबाट मूर्तिकलाका कृति सिर्जना गर्ने जनाइएको छ ।

नेपालमै पहिलोपटक यस्तो कार्यशाला आयोजना गर्न लागिएको मूर्तिकार खत्रीले दाबी गर्नुभयो । गलकोटमै जन्मनुभएका खत्रीकै सोच र योजनामा कार्यशाला हुन लागेको हो । प्रतिष्ठानले मूर्तिकलासँगै अन्य विषयगत कलाको प्रवद्र्धन र उत्थानमा काम गर्ने लक्ष्य लिएको छ ।

रासस

धेरै पढिएको