कला तथा मनोरन्जन

पद्मश्री पुरस्कार रमेश सायनको ‘छुटेका अनुहार’ लाई

काठमाडौं : खेमलाल हरिकला लामिछाने स्मृति प्रतिष्ठानले पद्मश्री पुरस्कार २०७५ निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ लाई दिने निर्णय गरेको छ।

मंगलबार प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति सार्वजनिक गर्दै पद्मश्री छुटेका अनुहार र पद्यश्री साधना सम्मान इतिहासविद डा. महेशराज पन्तलाई दिने निर्णय गरेको जानकारी गराएका हुन्। पुरस्कारको राशी जनही दुई लाख रुपैयाँ छ।  पुरस्कार र सम्मान कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिनेछ।

दुईसय भन्दा बढी शोधलेखका साथसाथै ६ वटा पुस्तक प्रकाशित गरेका महेशराज पन्त नेपाली भाषा, संस्कृति, इतिहासका अन्वेषक हुन्। २००९ सालमा पिता नयराज पन्तले सुरु गरेको संशोधन मण्डलका अभियन्ता महेशराज पन्तले २०२१ सालदेखि इतिहास प्रधान पूर्णिमा प्रकाशन गरिरहेका छन्।

प्रामाणिक अनुसन्धान तथा त्यसलाई नेपाली वाङ्मयमा स्थापित गरेका महेशराज पन्तको योगदानलाई कदर गर्दै २०७५ सालको पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

२०६३ सालदेखि खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएकोको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ।

२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ।

अन्नपूर्ण पोष्ट

About the author
nepalbritain news

nepalbritain news