नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको बताएका छन् । बिहीबार तनहुँमा पुल उद्घाटन गर्दै नेता पौडेलले झापा काण्डमा व्यक्ति हत्या मुद्दा लागेर ओली १४ वर्ष जेल बसेको बताएका हुन् ।
कम्युनिस्टहरू लोकतन्त्रवादी नहुने भन्दै पौडेलले भने, ‘कसले भन्यो ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बसे भनेर ? ज्यान मुद्दामा बसेका हुन् । कहाँबाट लोकतन्त्रका लागि बसे ? रामचन्द्र पौडेलजस्तो आस्थाका लागि बसेका होइनन् ।’ जोसमा आएर झापा काण्ड घटिहाल्यो भन्दै पौडेलले थपे, ‘यो लोकतन्त्रका लागि हो ? म मान्दिनँ । केपी ओली मेराअगाडि कुरा गरून् ।’
राष्ट्रवादको कुरा गर्ने ओलीले हालै तीन घण्टासम्म बालुवाटारमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग कुराकानी गरेको भन्दै आक्रोशित भएका उनले भने, ‘मलाई लागेको थियो, केपी ओली सुध्रे होलान् भनेर तर सुध्रने त कुनै छाँट छैन ।’ अबको लडाइँ भ्रष्टाचार पक्षपात र कुशासनविरुद्ध भएको बताउँदै पौडेलले भने, ‘ठुल्ठुला घोटाला गर्ने, अर्बौंको काण्डका रचयिताहरूलाई संरक्षण दिने, साना भुरा माछा खाँदै हिँड्ने तर ठुला माछा संरक्षण गर्ने अख्तियारलाई पनि ठेगान लगाउने आन्दोलनको जरुरी छ ।’
अबको आन्दोलन अख्तियारको घाँटी समाउने मात्र होइन, न्यायिक निकायलाई पनि सावधान गर्ने आन्दोलन हुने पौडेलले दाबी गरे । ७० वर्षको लडाइँमा पुलिसको दमन र पुलिसको पेलानले कहिल्यै पनि नछोडेको उनले बताए । ‘लोकतन्त्र आएपछि पनि पुलिसको पेलानमा पर्नुपर्ने स्थिति विद्यमान रहनाले लोकतन्त्र अझै साकार पार्नुपर्ने सिद्ध भएको छ,’ पौडेलले भने ।
बुधबार तनहुँमा पुल उद्घाटनका लागि जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएपछि उनी प्रधानमन्त्री ओलीमाथि बिहीबार थप आक्रोशित बनेका हुन् । प्रहरीको पेलानका कारण शरीर दुखेको बताएका पौडेलले खुलेर प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा १४ वर्ष जेल बसेको आरोप लगाए । ‘जोसमा बुटन चौधरीको हत्या अभियोगमा जेल बसेकाहरूले आफूसँग लोकतन्त्रको गफ नगरे हुन्छ,’ पौडेलले भने, ‘२०६२÷६३ को जनआन्दोलनमा बयलगाढा चढेर अमेरिका पुगिन्न, संघीयता लोकतन्त्रमा पुगिन्न भन्ने व्यक्ति ओली नै हुन् ।’ राष्ट्रिय, अन्तर्राष्ट्रिय षड्यन्त्रले ओलीलाई राष्ट्रवादी बनाइएको भन्दै उनले भने, ‘विदेशी गुप्तचरसँगको भेटले उनको राष्ट्रवाद उदाङ्गिएको छ ।’
बुधबार पुल उद्घाटनमा रोक लगाउँदै स्थानीय प्रशासनले पौडेललाई गिरफ्तार गरेको विरुद्धमा बिहीबार तनहुँको दमौलीमा कांग्रेसले शक्ति प्रदर्शन गरेको थियो ।