चाक्सीबारीमा निधि, कोइराला र सिंहबीच तेस्रो छलफल
काठमाडौ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी ठमेलमा मंगलबार बिहान ११ स् ३० बजेबाट सभापतिका दाबेदार नेतात्रयबीच छलफल भइरहेको छ । छलफलका लागि उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला चाक्सीबारी पुगेका छन्। गत सोमबार असार ७ गते उपसभापति निधिको निवास बानेश्वरमा छलफल भएको थियो । त्यसपछि असार ११ गते शुक्रबार महामन्त्री कोइरालाको निवास महाराजगञ्जमा छलफल भएको थियो ।
आसन्न भदौ १६ १९ का लागि हुने पार्टीको १४ औँ महाधिवेशनमा एक ठाउँमा उभिने नयाँ समीकरण निर्माणका लागि उनीहरुबीच छलफल भइरहेको छ । सभापति शेरबहादुर देउवा आफै सभापतिमा दोहोरिन कसिएपछि सभापतिका दाबेदार निधिले नयाँ समीकरण बनाउन शशाङ्क र प्रकाशमानसँग छलफल अगाडि बढाएको देखिन्छ । त्यसमा शशाङ्क र प्रकाशमान पनि सहमत देखिएका छन् । तर सभापतिको उम्मेदवार बन्ने भन्ने विषयमा भनी सहमति भइसकेको छैन ।
शशाङ्क र प्रकाशमान निधिसँगको छलफलमा जुटिरहेको बेला सोमबार नेतृ सुजाता निवासमा वरिष्ठ पौडेल र कृष्णप्रसाद सिटौलाबीच लञ्च मिटिङ भएको थियो । यस्तै सोमबार बिहान पौडेल निवास बोहोराटारमा पौडेलसँगको भेटवार्ताका लागि शेखर कोइरालाले पुगेका थिए । १४ औँ महाधिवेशन नजिकिएसँगै काँग्रेसमा भेटघाट र छलफलले तीव्रता पाएको छ ।

