३१ श्रावण २०८३, आईतवार
Follow Us

नेपाल अझै किन बेलायतको ‘रेड लिस्ट’मा छ ?

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७८, बुधबार ०५:२५


प्रजय शुक्ल
। लन्डन । कोरोना जोखिमका कारण बेलायतले यात्रा प्रतिबन्ध लगाएका अन्य ८ मुलुकलाई आज ९बुधबार० देखि यसबाट मुक्त गरे पनि नेपाललाई भने यथावत् राखेको छ।

बेलायतले बुधबारबाट बंगलादेश, इजिप्ट, केन्या, मालदिभ्स, ओमन, पाकिस्तान, श्रीलंका र टर्कीलाई ‘रेड लिस्ट’बाट हटाएको हो। तर तीमध्ये कतिपय मुलुकभन्दा कोरोनाको जोखिम कम भएको नेपाललाई भने त्यस्तो सूचीबाट नहटाइएको हो।

यसो हुनाको कारण नेपालको कूटनीतिक पहल कमजोर भएको भन्दै आलोचना हुन थालेको छ।

नेपाल रेड लिस्टमा भएका कारण बेलायतमा रहेका नेपालीहरूलाई नेपाल यात्रा गर्न निकै कठिन भएको छ। दसैंलगायत महान् चाडपर्व नजिकिइरहेका बेला आफ्नो देश जान नपाउँदा यहाँका नेपाली भावनात्मक पीडामा त छँदै छन्, सँगसँगै नेपाललाई समेत आर्थिक र सामाजिक रूपमा ठूलो असर परिरहेको छ।

छिमेकी मुलुक भारतमा फैलिएको कोरोनाको नयाँ भेरिएन्टका कारण भारतसँगै नेपाल पनि बेलायतको ‘रेड लिस्ट’मा परेको थियो।

तर भारत रेड लिस्टबाट हटिसक्दा पनि नेपाल भने अझै हट्न नसकेको हो।

बेलायतस्थित नेपाली राजदूतावासले यो जटिल परिस्थितिमा खेल्नुपर्ने भूमिका कमजोर भएकाले पनि नेपालविरुद्धको यात्रा प्रतिबन्ध हट्न नसकेको हो।

नेपाल रेड लिस्टमा रहेकाले नेपालबाट फर्केपछि बेलायतमा ११ रात होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम छ। त्यसका लागि तोकिएको होटलमा प्रतिव्यक्ति प्रतिकोठा २ हजार २ सय ८५ पाउन्ड अर्थात् नेपाली रुपैयाँ ३ लाख ७२ हजार तिर्नुपर्छ।

जसले गर्दा बेलायतबाट नेपाल भ्रमण गर्ने यात्रुको संख्या घटेको छ।

कोरोनाको तथ्यांकका आधारमा हेर्ने हो भने पनि नेपाल बंगलादेश, पाकिस्तानभन्दा धेरै राम्रो अवस्थामा भएको जनस्वास्थ्य विज्ञ बताउँछन्।

तर पनि नेपाललाई रेड लिस्टबाट नहटाउनुमा कुनै तुक नभएको बताउँछन्, बेलायतस्थित हडर्सफिल्ड विश्वविद्यालयका डिन तथा जनस्वास्थ्यका प्रोफेसर डा। पदम सिंखडा।

जनस्वास्थ्य सूचकका आधारमा हेर्दा पनि नेपालको अवस्था ती देशको भन्दा राम्रो भएको तर्क गर्दै प्रोफेसर सिंखडाले भने, ‘नेपाललाई रेड लिस्टबाट नहटाउनुको मुख्य कारण कूटनीतिक पहल ठीक ढंगले नहुनु हो भने अर्को कारण आर्थिक फाइदा पनि हुन सक्छ।’

‘तथ्यांकका आधारमा हेर्ने हो भने पनि दैनिक कोभिड टेस्ट पाकिस्तान, बंगलादेशको भन्दा नेपालको राम्रो छ’, डा सिंखडाले नेपालखबरसँग भने, ‘अब आर रेट अर्थात् रेपोडकटिभ रेटका आधारमा हेर्ने हो भने पनि नेपालभन्दा बढी आर रेट भएकाहरू रेड लिस्टबाट हटिसके। र, खोपको अवस्था पनि रेड लिस्टबाट हटेका देशहरूका भन्दा नेपालकै राम्रो छ।’

बेलायत सरकारको कोरोनाको तथ्यांक सूचकका आधारमा हेर्ने हो भने सेर अफ पोजिटिभ टेस्ट श्रीलंकाभन्दा नेपालको कम छ र ट्राभल पोजिटिभिटी अर्थात् नेपालबाट बेलायत आउने यात्रुहरूमा गरिने ट्रयाक एन्ड ट्रेस पोजिटिभिटी पनि बंगलादेश, पाकिस्तान, श्रीलंका र केन्या भन्दा नेपालको कम देखिन्छ।

खोपका आधारमा हेर्ने हो भने पनि नेपालमा १८.८ प्रतिशत नेपालीले खोप लगाइसके। तर बंगलादेशले ८.९ प्रतिशत र पाकिस्तानले ११ प्रतिशत नागरिकलाई मात्र खोप लगाएका छन्।

यस्तै गैरआवासीय नेपाली संघ (यूके) का अध्यक्ष प्रेमगाहा मगरले कोरोनाको दर क्रमशः घटेको नेपाललाई अझै पनि रातो सूचीमा राखिएकाले यो अव्यावहारिक भएको बताए। उनले नेपाललाई कोभिड–१९ को रेड लिस्टबाट हटाउन बेलायत सरकारलाई पत्र पठाइएको जानकारी पनि गराए।

धेरै पढिएको