लण्डन घुम्न आएकी कँडेलद्वारा मन्दिर निर्माणका लागि सहयोग
लण्डन । बेलायत भ्रमणमा आएकी एक नेपाली महिलाले पश्चिम लण्डनमा निर्माण गर्न प्रस्ताव गरिएको मन्दिर तथा नेपाली कल्चरल सेन्टरका लागि आर्थिक सहयोग गरेकी छन्।
नेपाली कल्चरल सेन्टर यूकेद्वारा प्रस्तावित कल्चरल सेन्टर तथा मन्दिर निर्माणका लागि चितवनबाट लण्डन भ्रमणमा आएकी दिला देवी कँडेलले करिब दुई लाख नेपाली रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी हुन्।
चितवनको भरतपुर महानगरपालिका–८ स्थायी निवासी कँडेलले शनिबार फेल्थाममा आयोजित एक कार्यक्रममा उक्त सहयोगको घोषणा गरेकी हुन्। उनले विदेशी भूमिमा निर्माण हुन लागेको पवित्र मन्दिरका लागि आफ्नो तर्फबाट सानो भए पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन्। उहाँलाई नेपाली कल्चरल सेन्टर यूकेको संस्थापक सदस्यका रूपमा सम्मान गरिएको छ।
कार्यक्रममा कानुनविद् कमल कँडेलले आफ्नो परिवार लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएको उल्लेख गर्दै आमा दिला देवीको मन्दिर निर्माणमा सहयोग गर्ने इच्छालाई परिवारले पनि साथ दिएको बताए।
सो अवसरमा नेपाली कल्चरल सेन्टर यूकेको तर्फबाट टीका गुरुङ, हरि राई, सुनिल गुरुङ र रेनुका राईले कँडेललाई खादा तथा सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए।
कार्यक्रममा नेपाली कल्चरल सेन्टर यूकेका संयोजक चिरन शर्माले विदेश भ्रमणमा आएका बेला नेपाली मन्दिर निर्माण हुन लागेको जानकारी पाएर आर्थिक सहयोगको घोषणा गरेकोमा कँडेलप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे। उनले विदेशमा नेपाली कला, संस्कृति, धर्म र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि प्रस्तावित कल्चरल सेन्टर महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा हन्स्लो–फेल्थाम साई केन्द्रका सदस्यहरूका साथै टीका कँडेल, सुनीता कँडेल, जोस्ना कँडेल र सरिसा कँडेललगायतको उपस्थिति रहेको थियो।


