२४ बैशाख २०८१, सोमबार
Follow Us

१०औं महाधिवेशनका लागि एमालेले २७ कात्तिकमा प्रतिनिधि चयन गर्ने

नेपालब्रिटेन संवाददाता
१२ कार्तिक २०७८, शुक्रबार १३:२५

काठमाडौं । नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशनका लागि २७ कात्तिकमा प्रतिनिधि चयन गर्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले २७ कात्तिकमा एकैदिन देशभरबाट प्रतिनिधि चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले १ हजार ९९९ प्रतिनिधि चयन गर्ने निर्णय गरिसकेको छ ।

कसरी चयन हुन्छन् प्रतिनिधि?
अहिले एमालेसँग ७ लाख २१ हजार पार्टी सदस्य छन् । प्रवक्ता ज्ञवालीका अनुसार प्रतिनिधि तीन खालका हुनेछन् । केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकारका निश्चित सदस्यहरु पदेन प्रतिनिधि हुनेछन् ।

पदेन प्रतिनिधिबाहेक विभिन्न भुगोलबाट प्रतिनिधित्व गर्ने विभिन्न रेसियोबाट प्रतिनिधि चयन गरिनेछ । त्यसका लागि हरेक निर्वाचन क्षेत्रबाट १५ सय सदस्य बराबर कम्तीमा एक जना महिला र दुईजना खुला गरेर तीन जना अर्थात हरेक निर्वाचन क्षेत्रबाट तीन जना हुनेछन् ।

त्यसबाहेक एक हजार सदस्य बढ्दै जाँदा एक जना थपिनेछ । ५१ प्रतिशत प्रतिनिधि समावेशी हुनेछ । जसमा ३३ प्रतिशत महिलाका अतिरिक्त आदिवासी, जनजाति थारु मधेसी मुस्लिम दलित पिछडिएको क्षेत्रसहित कलस्टर छुट्याएको छ । ४९ प्रतिशत खुला गरेर प्रतिनिधि चयन हुनेछ ।

त्यसबाहेक हरेक जिल्लाबाट एक एक जना दलित प्रतिनिधि चयन हुनेछन् । अर्को हरेक प्रदेशबाट मजदुर पार्टी सदस्यबाट मजदुर प्रतिनिधि चयन हुनेछ । त्यसैगरी हरेक जनसंगठनबाट ५/५ जना प्रतिनिधित्व हुनेछ । केन्द्रीय विभाग र केन्द्रीय कार्यालयलाई एउटा निर्वाचन क्षेत्र मानेर त्यहाँबाट दुई जना महिला र एकजना खुला गरेर तीन जना त्यहाँबाट निर्वाचित हुनेछन् । प्रवासका समर्थक शुभचिन्तकबाट २० जना प्रतिनिधित्व गराइने प्रवक्ता ज्ञवालीले बताए ।

बैठकमा १०औं राष्ट्रिय महाधिवेशनमा प्रयोग हुने विद्युतीय मेसिनमा डेमो मतदान गरेर परीक्षण गरिएको थियो ।

बैठकमा अध्यक्ष ओलीले बाँकी रहेका पालिका र वडा अधिवेशन छिट्टै गर्न निर्देशन दिए । न्यायालयमा देखिएको अराजकता भद्रगोल वेथितिहरुका बारेमा पनि कुराकानी भएको थियो ।

केन्द्रीय कमिटीको आगामी बैठक ९ मंसिरमा चितवनको सौराहमा बस्ने ज्ञवालीले बताए ।