२२ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतको रिमम्बरेन्स सन्डे समारोहमा कावा नेपाली राजदूत खनाल सहभागी

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७८, मंगलवार ००:४१

लन्डन । युद्धमा वीरगतिप्राप्त सैनिकहरुको सम्मान एवम् सम्झनास्वरूप बेलायतमा आयोजित विशेष समारोहमा नेपालको प्रतिनिधित्व गर्दै बेलायतका लागि कार्यवाहक राजदूत रोशन खनाल सहभागी भएकी छन् ।

आइतबार बिहान सेन्ट्रल लन्डनको ह्वाइटहलस्थित वार मेमोरियलमा सम्पन्न ‘रिमम्बरेन्स सन्डे’ समारोहमा नेपालको तर्फबाट कावा राजदूत खनालले रिथ अर्पण गरिन् ।

बेलायती युवराज चार्ल्स, युवराज विलियम, प्रधानमन्त्री बोरिस जोन्सनसहित राजपरिवारका सदस्य, सरकारका उच्च अधिकारी लगायतको समारोहमा सहभागिता थियो ।

समारोहमा कमनवेल्थ मुलुकहरुका बेलायतस्थित हाइ कमिशनारहरु सहभागी थिए भने राजदूतहरु सहभागी हुने मुलुक नेपाल र आयरल्यान्ड मात्रै थिए ।

रिथ चढाउने क्रममा पनि कमनवेल्थ मुलुकहरुले सामूहिक रुपमा पालो पाउंदा नेपाललाई छुट्टै समय उपलब्ध गराइएको थियो ।

गोर्खाहरुको साइनोका कारण बेलायतले नेपाललाई महत्वका साथ यो समारोहमा निम्तो दिने गरेको छ । गत वर्ष कोभिड महामारीका कारण निकै सानो सहभागितामा सम्पन्न समारोहमा जम्मा ७ देशका प्रातिनिधि मात्रै निम्त्याउंदा समेत नेपाललाई निम्तो दिइएको थियो ।

बेलायतका विभिन्न क्षेत्रमा आइतबार आयोजित रिमम्बरेन्स सन्डे समारोहमा यहाँस्थित भूपू गोर्खा, तीनका परिवार र नेपालीहरुले पनि उल्लेख्य सहभागिता जनाएका छन् ।

रिमम्बरेन्स सन्डेको रिथ अर्पण समारोहमा बेलायतका उच्चपदस्थ अधिकारीहरुसंगै नेपाली राजदूतको पनि सहभागिता रहेको यो तेस्रोपटक हो । यसअघिका दुई वर्ष तत्कालिन राजदूत दुर्गाबहादुर सुवेदीले नेपालको तर्फबाट रिथ चढाएका थिए ।