देउवा समूहको महाधिवेशन तयारी : जनप्रतिनिधि स्वतः प्रतिनिधि, नेतृत्व चयनमा विद्युतीय मतदान
काठमाडौँ । नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहले आफूले आयोजना गर्न लागेको १५ औँ महाधिवेशनमा केन्द्रीय नेतृत्व चयनका लागि विद्युतीय मतदान प्रणाली अपनाउने निर्णय गरेको छ ।
महाधिवेशन तयारी समिति अन्तर्गतको सचिवालय समन्वय समितिले नेतृत्व चयनमा विद्युतीय मतदान मेसिन प्रयोग गरिने जनाएको छ । बुधबार बसेको महाधिवेशन तयारी समितिको बैठकमा मतदान प्रणालीसहित महाधिवेशनको तयारीबारे छलफल भएको बताइएको छ।
देउवा समूहले महाधिवेशनमा आठ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी गरेको छ । प्रत्येक निर्वाचन क्षेत्रबाट ३८ जना, ७५३ स्थानीय तहबाट प्रतिनिधि, मनोनीत ३०० जना, भ्रातृ संस्थाबाट २०० जना, जनसम्पर्क समितिबाट २०० जना तथा निर्वाचित जनप्रतिनिधिसहित अन्य प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।
काँग्रेसबाट निर्वाचित भई हाल पदमा रहेका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णयसमेत देउवा समूहले गरेको छ ।
उक्त निर्णय कार्यान्वयनका लागि समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्राचार गरेका छन् ।
‘प्रत्येक निर्वाचन क्षेत्रअन्तर्गत स्थानीय तहमा नेपाली काँग्रेस पार्टीको तर्फबाट निर्वाचित हुनुभएका पालिका-नगर-उपमाहानगर-महानगरपालिका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचित भई हाल पदमा कार्यरत रहनु भएका जनप्रतिनिधिहरू आ(आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने भन्ने गर्ने निर्णय भएको हुँदा सोहीबमोजिम गर्नु गराउन हुन अनुरोध गर्दछु,’ पत्रमा उल्लेख छ ।

