२२ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली कांग्रेस महाधिवेशन: मतगणना सुरू

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०७८, सोमबार १९:१८

सभापति पदका लागि मत खसालिएको ड्रम गणनास्थलमा ल्याइँदै, अब केही बेरमै गणना सुरू हुने

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनअन्तर्गत अब केही बेरमै सभापति पदको मतगणना सुरू हुँदैछ।

यसको निम्ति मत खसालिएको ड्रम गणनास्थलमा ल्याउने क्रम जारी छ। तीन मतदान स्थलमा सभापति पदका लागि एक-एकवटा ड्रमलाई मतपेटिकाका रूपमा प्रयोग गरिएको थियो। तीमध्ये एउटा ड्रम गणनास्थल ल्याइसकिएको छ भने अब दुईवटा ड्रम ल्याउन बाँकी छ। दुवै ड्रम ल्याएपछि तुरून्तै मतगणना सुरू हुनेछ।

मतगणना सुरूमा सभापति पदको मात्रै हुने छ। कुल खसेको मतको ५१ प्रतिशत पुर्‍याउने व्यक्ति सभापति निर्वाचित हुनेछन्। तर ५१ प्रतिशत मत नपुगेमा सभापतिका लागि दोस्रो चरणको मतदान हुनेछ।

पहिलो चरणमा बढी मत ल्याएका उम्मेदवार दोस्रो चरणको चुनाव लड्न पाउँछन्। कम मत ल्याएका उम्मेदवारले जसलाई समर्थन गर्छन् त्यही व्यक्ति सभापतिमा चुनिनेछन्।

सोमबार बिहान ११ बजेबाट सुरू मतदान राति साढे ११ बजे सकिएको थियो। मतदान सकिएपछि उम्मेदवारका प्रतिनिधिहरूले मुचुल्कामा हस्ताक्षर गरेर बाकस सिलबन्दी गरिएका थिए। त्यसपछि सुरक्षाकर्मीहरूले मत बाकस बोकेर गणनास्थलतर्फ लग्दै छन्।

यसअघि साढे १० बजेसम्म मतदान गर्ने भनिएकोमा एक घन्टा समय थपिएको थियो। महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। निर्वाचन समितिले यसबारे औपचारिक जानकारी भने दिएको छैन।

महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ गरी पाँच जना उठेका छन्।