२३ बैशाख २०८१, आईतवार
Follow Us

चीनको उत्तरी शहर जियानमा कडा लकडाउनको घोषणा

नेपालब्रिटेन संवाददाता
८ पुष २०७८, बिहीबार ०४:४४

चीनको उत्तरी शहर जियानमा कोरोनाको संक्रमण निरन्तर रुपमा बढेपछि लकडाउन गरिएको छ । जियानका एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।

गत डिसेम्बर ९ यतामात्रै जियानमा १४३ जना नयाँ संक्रमित भेटिएका छन् । हिजो मात्रै घोषणा गरिएको नयाँ प्रतिबन्धात्मक व्यवस्थामा एउटा घरबाट एक जना मात्रै मानिस प्रत्येक दुई दिनमा आवश्यक सरसामान किन्न जान छुट दिइएको छ ।

चीनमा बढ्दो कोरोनाको प्रकोप घटाउन चीनले कडा लकडाउन गरेको हो । चीनको शुन्य कोभिड रणनीति रहेको छ । जसका लागि प्रभावित क्षेत्रलाई लक्षित गरी आम रुपमा कोरोनाको परीक्षण र लकडाउन गरिएको हो ।

सन् २०२२ को फेब्रुअरीमा चीनले शीतकालीन ओलम्पिकको आयोजना गर्न लागेकाले पनि उच्च सतर्कता अपनाइएको छ । जियानका बासिन्दालाई शहर छोड्न रोक लगाइएको छ ।

शहर बाहिर जानैपर्ने अवस्था आएमा सम्बन्धित अधिकारीले स्वीकृति दिनुपर्ने व्यवस्था गरिएको छ । आजै मध्यरातिबाट लकडाउन शुरु हुनेछ । लकडाउनको समयावधि नतोकेकाले कहिले सकिन्छ भन्ने कुरा संक्रमणको अवस्था हेरेर सम्बन्धित अधिकारीले पछि जानकारी गराउनेछन् ।

कोरोनाको उद्गम स्थल चीनमा हालसम्म हालसम्म १ लाख १३ हजार संक्रमित भएका छन् भने संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय ४९ रहेको छ ।