२३ बैशाख २०८१, आईतवार
Follow Us

आत्महत्या रोकथामका लागि प्रतिबद्धता

नेपालब्रिटेन संवाददाता
९ पुष २०७८, शुक्रबार ०५:२६

तनहुँको देवघाट गाउँपालिका–५ का बासिन्दाले आत्महत्या रोकथामका लागि प्रतिबद्धता जनाएका छन् । इलाका प्रहरी कार्यालय देवघाटले बिहीबार आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले आत्महत्या रोकथाम र नियन्त्रणका लागि प्रतिबद्धता जनाएका हुन् ।

सो क्रममा ३०० भन्दा बढीले आत्महत्या रोकथामका लागि प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका छन् । स्थानीयवासीले ‘जीवनमा आइपर्ने हरेक कठिन परिस्थितिको सामना गर्नेछु तर आत्महत्या गर्ने छैन’, लेखिएको व्यानरमा हस्ताक्षर गरेका थिए । आत्महत्या समस्याको समाधान नभएको उनीहरुको भनाइ छ ।

पछिल्लो समय बढ्दै गइरहेको आत्महत्याको घटनालाई न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज प्रहरी नायब निरीक्षक सुशील लामिछानेले जानकारी दिनुभयो ।

देवघाटमा गत एक वर्षको अवधिमा तीन जनाले आत्महत्या गरेका छन् । “आत्महत्या समस्याको समाधान होइन, यसको रोकथामका लागि स्थानीयवासी जागरुक हुनुपर्छ, स्थानीयवासीकै सहभागितामा सचेतनामूलक कार्यक्रम गरेका हौँ”, उहाँले भन्नुभयो । गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले जुनसुकै समस्या आइपरे पनि त्यसको समाधान आत्महत्या नभएकाले यसको रोकथामका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।