३ श्रावण २०८२, शनिबार
Follow Us

३३३ विद्यार्थी पढाउन एउटै शिक्षक, स्कुल धानेकाे ३४ वर्ष वित्याे

नेपालब्रिटेन संवाददाता
१७ पुष २०७८, शनिबार १२:२६

महाेत्तरी ।सरोकारवालाको बेवास्ताका कारण महोत्तरीको एक विद्यालय विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालित छ । अति गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको मनरासिस्वा नगरपालिका-९ मधवा गाउँमा अवस्थित हनुमानदत्त विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालय सम्बन्धित निकायको उदासिनताका कारण विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालित रहेको छ।

सो विद्यालय महोत्तरीको निर्वाचन क्षेत्र नं ३ मा अवस्थित छ भने यहाँबाट सङ्घीय सांसदमा लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर एवं प्रदेश सभासदस्यमा सोही पार्टीका रानीकुमारी तिवारी निर्वाचित छन्।

उनीहरूले समेत कुनै चाँसो नराख्दा विद्यालयको अवस्था जस्ताको त्यस्तै छ। नेपाल भारतको दशगजा क्षेत्रको १० मिटर मात्रै उत्तर किनारामा मुसहर बस्तीको छेउमै अवस्थित सो विद्यालय अहिले बाल कक्षादेखि ५ सम्म एउटै शिक्षकले धानिरहेका छन्।

आफै प्रधानाध्यापक, आफै कक्षा शिक्षक र आफै कार्यालय सहयोगीसमेत भएर २०४४ सालदेखि नै सो विद्यालयमा बालबालिकालाई सेवा दिँदै आएको प्रधानाध्यापक एवं एक्लो शिक्षक रामयाद राउतले बताए।

विसं २०१० मा स्थापित त्यस क्षेत्रकै पहिलो विद्यालय अहिले देशमा तीन तहको सरकार भए पनि कसैको नजरमा पर्न सकेको छैन। भवन, कक्षाकोठा, शौचालय, खानेपानी अभाव र खुला आकाशमुनि टुटे भत्केको कोठाको बरण्डामा वर्षौंदेखि शिक्षा ग्रहण गर्न ससाना बालबालिका बाध्य छन् भने शिक्षक एवं प्रअ राउतले नचाहेर पनि सोही परिस्थितिमा पठनपाठन गराउन विवश रहेको दुखेसो व्यक्त गरे।

त्यस विद्यालयको बाल कक्षामा २०, १ कक्षामा ६१, २ कक्षामा ७४, ३ कक्षामा ५३, ४ कक्षामा ५५ र ५ कक्षामा ६९ गरी जम्मा ३३३ छात्रछात्रा अध्ययनरत छन्। त्यस विद्यालयमा स्थापनाकालमै निर्मित पुराना जीर्ण तीन कोठा मात्रै छन् भने सोही कोठामा प्रअ राउतले कक्षा सञ्चालन र कार्यालय सञ्चालन गरिरहेका छन्।

विद्यार्थीको चापले गर्दा पठनपाठनमा व्यवधान, कार्यालय सञ्चालनमा समस्या र खाजा पकाउने काममा समेत बाधा अवरोध हुने भएपछि त्यहाँ अध्ययनरत ७० प्रतिशत विद्यार्थीलाई कोठा बाहिर बनाइएको चिसो बरण्डामा बसाएर पढाउनुपर्ने बाध्यता रहेको राउतले बताए।

करिब पाँच कठ्ठा क्षेत्रफल रहेको त्यस विद्यालयमा जति पनि कक्षाकोठा बनाउन मिल्ने पर्याप्त जग्गा रहेको, खुला चौर रहेको र शौचालय, खानेपानीलगायतका सबै सुविधा जडान गर्न पर्याप्त आधार रहे पनि कसैले चासो नदेखाउँदा समस्या रहेको स्थानीय बयोवृद्ध बुधवा सदाले बताए।

धेरै पढिएको