१० जेष्ठ २०८१, बिहीबार
Follow Us

निर्वाचन गर्न एनआरएनएलाई परराष्ट्र मन्त्री खड्काको निर्देशन

नेपालब्रिटेन डट कम्
१७ पुष २०७८, शनिबार १२:५०

लण्डन । परराष्ट्र मन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् ।

संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रवार गएको एक प्रतिनिधिमण्डलसंगको भेटमा मन्त्री खड्काले संघको १० औं महाधिवेशन तथा निर्वाचन प्रकृया अगाडि बढाउन निर्देशन दिएका हुन् ।
मन्त्री खड्काले मन्त्रालयको तर्फबाट कुनै हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई समेटेर लैजान सुझाव दिएका थिए ।

भेटमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले निर्वाचनको विषयलाई लिएर संघ मन्त्रालयबिरुद्ध पाटन उच्च अदालतमा जाने बाध्यात्मक कदम भएको बताएका थिए । पन्तले अगामी दिनमा मन्त्रालयसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै संघको नयाँ नेतृत्वको लागि निर्वाचनको लागि सहयोग गर्न आग्रह गरे ।

प्रतिनिधिमण्डलमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वसभापति गंगाधर गौतम लगायतको उपस्थिति थियो ।

गैरआवासीय नेपाली संघ र मन्त्रालयबीचको पत्रयुद्ध पछि संघका पदाधिकारीहरुले पहिलो पटक मन्त्री खड्कालाई भेटेका हुन् । पछिल्लो भेटघाटले संघ र मन्त्रालयबीचको सम्बन्धमा सुधार हुने अपेक्षा गरिएको छ ।