२५ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायती राजदूत र गृहमन्त्रीबीच भेटवार्ता

नेपालब्रिटेन डट कम्
१४ माघ २०७८, शुक्रबार ११:५४

गृहमन्त्री बालकृष्ण खाण र बेलायती राजदूत निकोला क्याथरिन पोलिटबीच आज शिष्टाचार भेट भएको छ ।

राजदूत निकोलाले गृहमन्त्रीलाई गृहमन्त्रालयमा नै गएर भेटघाट गरेकी हुन् । उक्त भेटवार्तामा बेलायतबीचको दुई सय वर्ष पुरानो सम्बन्ध, सहकार्य र सहयोगका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री खाणले बेलायतले भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, जनशक्ति विकासबारे गरेको सहयोगका लागि कृतज्ञता ज्ञापन गरेका थिए । त्यस्तै गृहमन्त्री खाणले लैंगिक हिंसा रोक्न, चेतना अभिवृद्धि, महिला सशक्तिकरणलगायत क्षेत्रमा गरेको कामको लागि धन्यवाद व्यक्त गरेका थिए ।

आगामी दिनमा यस्ता सहकार्यका लागि गृह मन्त्रालय र आफ्नो व्यक्तिगत तर्फबाट गर्ने सबै सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।त्यस्तै, गृहमन्त्री खाणले कोभिड–१९ महामारीबाट बच्न खोप वितरणमा खेलेको भूमिका प्रशंशायोग्य रहेको पनि बताएका थिए ।

उनले नेपालीहरूले गोर्खा सैनिकको रूपमा बेलायती सेनामा लामो सहकार्य गरेको इतिहास भएको बताउँदै राजदूत पोलिटलाई गोर्खा सैनिकहरूको सेवा सुविधाका लागि उठेका मागहरूको सम्बोधन गरिदिन पहल गर्न आग्रह गरेका थिए।

भेटमा राजदूत पोलिटले कोभिड–१९ विरुद्धको खोपको न्यायोचित वितरणको पक्षमा बेलायत रहेको बताएकी थिइन् । त्यस्तै, राजदूत पोलिटले बेलायतमा गोर्खा सेनाको अभूतपूर्व योगदान रहेको र गोर्खा सैनिकको न्यायोचित मागको सम्बोधन गर्न आफूले पहल गर्ने बताएकी थिइन्।

भेटमा राजदूत पोलिटले बेलायतले नेपाललाई आगामी दिनमा सहयोग गर्ने क्षेत्रबारे जानकारी गराएकी थिइन्।