नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर २० रुपैयाँसम्मको ठूलो कटौती गरेसँगै बुधबार काठमाडौँ उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पहरू ठप्प देखिएका छन्।
निगमले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाउने निर्णय गरेपछि निजी व्यवसायीहरूले असन्तुष्टि जनाउँदै बिक्री रोकेका हुन्।
पम्प सञ्चालकहरूले नयाँ मूल्य लागू हुँदा आफ्नो डिपोमा रहेको पुरानो मौज्दात (स्टक) बाट ठूलो आर्थिक घाटा ब्यहोर्नुपर्ने बहाना बनाउँदै ‘नो पेट्रोल’ को सूचना टाँसेर पम्पहरू बन्द गरेका छन्।
निगमले मंगलबार राति १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरेको थियो, जसका कारण काठमाडौं, पोखरा र दिपायल लगायतका क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजार र इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य घटेर आएकाले निगमले उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरेको भए पनि पम्पहरू बन्द हुँदा बजारमा इन्धनको कृत्रिम अभाव देखिएको छ।
मूल्य घट्ने निश्चित भएपछि डिलरहरूले नोक्सान हुने डरले मंगलबार आयल निगमको डिपोबाट पर्याप्त इन्धन समेत नउठाएको (लिफ्टिङ नगरेको) पाइएको छ।
यसरी पूर्वसूचना विना नै पम्पहरू बन्द गरिएका कारण काठमाडौंका विभिन्न स्थानमा इन्धन भर्न पुगेका सर्वसाधारण, दैनिक सवारीचालक तथा सेवाग्राहीहरू लामो लाइन लागेर पनिितयाे रित्तो हात फर्किन बाध्य भएका छन्।
सरकारी र सुरक्षा निकायका केही पम्पहरू खुला रहे पनि त्यहाँ अत्यधिक चाप बढेको छ। बजारमा पेट्रोलियम पदार्थको चरम अभाव र व्यवसायीको मनपरी बढेपछि नेपाल आयल निगमले तत्काल कदम चालेको छ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार काठमाडौँ उपत्यकामा बजार अनुगमनका लागि तत्काल तीनवटा विशेष टोली परिचालन गरिएको छ।
यी अनुगमन टोलीहरूलाई आकस्मिक रूपमा पम्पहरूको निरीक्षण गर्ने र उपभोक्तालाई इन्धन वितरण नगरी कृत्रिम अभाव सिर्जना गरेको वा बिना कारण पम्प बन्द गरेको पाइएमा तत्कालै सिल गरी कानुनी कारबाही अगाडि बढाउने पूर्ण अधिकार दिइएको छ।
निगमले व्यवसायीहरूको माग र मागअनुसारको इन्धन आपूर्ति उपलब्ध गराइरहेकाले यो प्राविधिक समस्या साँझसम्ममा पूर्ण रूपमा समाधान भई बजार सहज हुने दाबी गरेको छ।