काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा मात्रै महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ।
वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
समितिले नेपाली कांग्रेसको १५औं महाधिवेशनको तयारीअन्तर्गत साउन मसान्तभित्र जनसम्पर्क समितिहरूको महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय कार्यसमितिको निर्णय र परिपत्रअनुसार विधानबमोजिम प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
निर्वाचन समितिका अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा १४(३) मा जनसम्पर्क समितिको अधिवेशन केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा हुनुपर्ने व्यवस्था छ।
समितिले कार्यतालिकाअनुसार विदेशस्थित जनसम्पर्क समितिहरूलाई सदस्यताको विवरण केन्द्रमा पठाई पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिबाट स्वीकृति गराइसकेपछि मात्र निर्वाचन प्रयोजनका लागि प्रतिनिधि खटाइने जनाएको छ।
यसैअनुसार महाधिवेशनको मिति तय भएपछि समयमै केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराउन तथा समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा मात्रै अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्न सबै विदेशस्थित जनसम्पर्क समितिलाई परिपत्र गर्ने निर्णय बैठकले गरेको सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
