अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ।
१७ वर्षीया एक गायिका आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरूद्ध जाहेरी दिएकी हुन्।
गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ।
शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले यसबारे औपचारिक जानकारी दिएको छैन।
१७ वर्षीया ती गायिका एक महिना अघि आफूमाथि पल शाहले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्।
तर कास्की प्रहरीले आफ्नो क्षेत्राधिकार नपरेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएपछि बीचैमा पलले गायिकालाई फकाईफुल्याई गर्ने मौका पाएको देखिन्छ।
यो बीच दुबै बसेर गरेको कुराकानीको अडिओ विभिन्न सामाजिक सञ्जालमा आइसकेको छ। उक्त अडिओमा पलले आफूहरूबीच शारिरिक सम्बन्ध भएको स्विकारेका छन्। कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै पनि राखिएको शारिरिक सम्बन्ध बलात्कार हो।
कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार ती गायिका झन्डै एक महिनाअघि परिवारसहित पलविरूद्ध उजुरी गर्न आएकी थिइन्।
प्रहरीले त्यतिबेला सबैकुरा सुनेर\बुझेर जाहेरी पनि तयार गरिसकेको थियो। तर घटना तनहुँ जिल्लामा भएकाले आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै उतै पठायो।
प्रहरीले तत्काल जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको भए पल शाह यतिखेर प्रहरी हिरासतमा हुने थिए।