थाइल्याण्डबाट नेपाल जाने नेपाली मूलका व्यक्तिलाई भिसा सहज बनाउन माग
पीएनओ परिचयपत्र र भिसा सहुलियतको व्यवस्था गर्न संसदीय सुनुवाइ समितिका सभापति श्रेष्ठसँग आग्रह।
थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका व्यक्तिहरूले नेपाल आवतजावतलाई सहज बनाउन भिसा सहुलियतको व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेका छन्। उनीहरूले नेपाली मूलका व्यक्तिहरूको पहिचान सुनिश्चित गर्न पीएनओ (PNO) परिचयपत्र उपलब्ध गराउनसमेत सरकारको ध्यानाकर्षण गराएका छन्।
थाइल्याण्ड भ्रमणमा रहेका नेपाल सरकारको संसदीय सुनुवाइ समितिका सभापति एवं माननीय बोधनारायण श्रेष्ठसँग नेपाली मूलका व्यक्ति (पीएनओ) तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका प्रतिनिधिहरूले विशेष भेटघाट गरी उक्त माग राखेका हुन्।
भेटघाटमा पीएनओका संयोजक कुमार कार्की, गैरआवासीय नेपाली संघ थाइल्याण्डका पूर्वअध्यक्ष भविन्द्र बस्नेत र निवर्तमान अध्यक्ष सञ्जय ढकाललगायतको उपस्थिति थियो।
छलफलका क्रममा पीएनओ संयोजक कार्कीले विदेशमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूको मातृभूमि नेपालप्रतिको माया, भावनात्मक सम्बन्ध र नेपालको विकासमा योगदान पुर्याउने इच्छाबारे चर्चा गरे। उनले विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरूलाई मातृभूमिप्रतिको अपनत्व र पहिचानको अनुभूति गराउन नेपाल सरकारले पीएनओ परिचयपत्रको व्यवस्था गर्नुपर्ने माग राखे। सोही मागसहितको अनुरोधपत्रसमेत उनले सभापति श्रेष्ठलाई हस्तान्तरण गरे।
त्यसैगरी, नेपालमा अध्ययन गर्न चाहने नेपाली मूलका विद्यार्थी, हाल नेपालमा अध्ययनरत विद्यार्थी तथा उनीहरूका अभिभावकले भोग्दै आएका भिसासम्बन्धी व्यावहारिक समस्याबारे पनि ध्यानाकर्षण गराइएको थियो। नेपाल आवतजावतलाई सहज बनाउन आवश्यक भिसा सहुलियत उपलब्ध गराउन प्रतिनिधिहरूले आग्रह गरेका थिए।
एनआरएनए थाइल्याण्डका पूर्वअध्यक्ष भविन्द्र बस्नेत र निवर्तमान अध्यक्ष सञ्जय ढकालले थाइल्याण्डमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूले नेपाल भ्रमणका क्रममा भोग्नुपरेका समस्या तथा नेपालको विद्यमान भिसा नीतिबारे धारणा राखेका थिए। उनीहरूले विभिन्न देशले आफ्ना डायस्पोरालाई उपलब्ध गराउँदै आएका सुविधा र नेपालको नीतिबीच तुलना गर्दै नेपाली मूलका व्यक्तिहरूका लागि पनि सहज व्यवस्था गर्नुपर्नेमा जोड दिए।
प्रतिनिधिहरूले उठाएका माग तथा सुझावलाई सकारात्मक रूपमा लिँदै सभापति श्रेष्ठले नेपाली मूलका नागरिक तथा विद्यार्थीहरूले भोगिरहेका समस्याप्रति आफू संवेदनशील रहेको बताए। उनले प्रस्तुत माग र सुझाव नेपाल सरकारका सम्बन्धित निकायसम्म पुर्याएर समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरूको पहिचान सुनिश्चित गर्ने, उनीहरूको मातृभूमिसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नेपाल आवतजावतमा देखिएका भिसासम्बन्धी समस्या समाधान गर्ने विषयमा भएको उक्त भेटघाटलाई महत्वपूर्ण पहलका रूपमा लिइएको छ।

