२४ बैशाख २०८१, सोमबार
Follow Us

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सकियो यान्त्रिक परीक्षण उडान

नेपालब्रिटेन संवाददाता
१६ फाल्गुन २०७८, सोमबार १४:२८

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन ६ गतेदेखि सुरु गरिएको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सकिएको छ । थाइल्याण्डबाट ल्याइएको एरो थाईको विशेष विमानबाट यान्त्रिक परीक्षण उडान गरिएको हो । त्यसक्रममा उडान भरेको विमानको दुरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङ लगायतका परीक्षणहरू गरिएको छ ।

थाइल्याण्डको पाइलटसहितको प्राविधिक टोलीले नौ दिनसम्म यान्त्रिक उडान गरेर सञ्चारलगायत उपकरणहरूको जाँच गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । उनका अनुसार यान्त्रिक उडानको प्रारम्भिक रिपोर्टमा विमानस्थलमा जडान भएका सञ्चारलगायतका उपकरणहरू ठिक पाइएको छ ।

विमानस्थलको आइसीपी टु आयोजनाका प्रमुख प्रवीण न्यौपानेले प्रारम्भिक रिपोर्ट सन्तोषजनक आएको र अन्तिम रिपोर्ट आएपछि उपकरणबारेको सबै अवस्था थाहा हुने बताए । विमानस्थलको दुई चरण आइसीपी वान (भौतिक संरचना निर्माण) र आइसीपी टु (सञ्चार उपकरण जडान) अन्तर्गतमा काम भएको छ । विमानस्थलको आईसीपी टु को ठेक्का पाएको एरो थाई कम्पनीले यान्त्रिक उडान गरेको हो ।

आइसिपी टु आयोजना प्रमुख न्यौपानेले कम्पनीलाई फाइनल रिपोर्ट सकेसम्म छिटो उपलब्ध गराउन आग्रह गरिएको बताउनुभयो । ‘अन्तिम रिपोर्ट आएपछि सोही अनुसार थप प्रक्रिया अगाडि बढाउँछौँ, सम्भवतः १५/२० दिनभित्रमा यान्त्रिक उडानका दुवै रिपोर्ट आउने छन्,’ उनले भने ।

विमानस्थल सञ्चालनका लागि ‘मिसन भैरहवा’ नाम दिएर माघ १२ गतेदेखि सय दिनको योजनाअन्तर्गत काम भइरहेको छ । पर्यटन मन्त्रालयअन्र्तगतका निकायबाट काम भइरहे पनि गृह, अर्थलगायत मन्त्रालय अन्तर्गतबाट हुने काम ‘फिल्ड’ मा देखिएको छैन ।