२६ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए निर्वाचन : ५० भन्दा बढीको उम्मेदवारी, सबै पदमा चुनाव हुने

नेपालब्रिटेन डट कम्
२६ फाल्गुन २०७८, बिहीबार १६:३८

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनका लागि चार दर्जनभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन समितिका अनुसार बिहिबार बेलुकासम्म विभिन्न ५१ पदको लागि पदमा चार दर्जनभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता शुक्रवार ५ बजे सम्म जारी रहने छ ।

अध्यक्ष पदका लागि अमेरिकाबाट रवीना थापा र रसियाबाट डा बद्री केसीले उम्मेदवारी दर्ता गराएका छन्। थापा र केसी वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा छन्।

यस्तै उपाध्यक्षको लागि अष्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा हेमराज शर्मा, जय प्रकाश गुरुगं, ओमनबाट डिबी क्षेत्री, लगायतको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम सैयदले उम्मेदवारी दिएकी छिन्। यस्तै अफ्रिकाबाट रोशन थापाले युवा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र बेलायतबाट विनय अधिकारीले उम्मेदवारी दिएका छन्। सचिवमा अमेरिकाबाट शंकर खड्का, बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ, क्यानाडाबाट चिरनजीवी घिमिरेले उम्मेदवारी दिएका छन्। यसैगरी महिला सचिवमा हङकङबाट राधिका गुरुङले उम्मेदवारी दर्ता गराएकी छिन्।

यस्तै महिला सहकोषाध्यक्षमा अमेरिकाबाट युमना भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन्। यसैगरी युवा संयोजकमा डेनमार्कबाट रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन्। महिला संयोजककमा बेलायतबाट संगिता मरहठ्ठाले उम्मेदवारी दर्ता गराएकी छिन्।

युरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट सन्तोष भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्। ओसिनिया क्षेत्रीय संयोजकमा भने अष्ट्रेलियाबाट दिनेशराज जोशी र न्यूजील्याण्डबाट लाल केसीले उम्मेदवारी दर्ता गराएका छन्। मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदीबाट राजेन्द्र अर्याल (जोन) को उम्मेदवारी परेको छ। यस्तै एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट पारसमणि पोखरेलले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ।

यसैगरी एसिया प्यासिफिक महिला संयोजकमा मकाउबाट शान्तिदेवी अधिकारीले उम्मेदवारी दिएकी छिन्।

यस्तै युरोप क्षेत्रीय उपसंयोजक पदका लागि जर्मनीबाट नवराज रोसायर र बेलायतबाट ललित न्यौपाने र सागर सुवेदीले उम्मेदवारी दर्ता गराएका छन्। यता एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दलिवल खड्का र चीनबाट नवीन विकले उम्मेदवारी दिएका छन्। निर्वाचन स्रोत अनुसार अधिकासं पदमा दोहोरो उम्मेदवारी पर्ने देखिएको छ । केही क्षेत्रिय समितिमा बाहेक अन्यमा निर्वाचन हुने सम्भवना देखिएको छ ।