२५ बैशाख २०८१, मंगलवार
Follow Us

हिमाल आरोही निर्मल पूर्जा बेलायतमा सम्मानित

नेपालब्रिटेन डट कम्
१ चैत्र २०७८, मंगलवार ०७:१६

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाका निर्मल पूर्जा ‘निम्स’लाई बेलायतको इष्टली बरो काउन्सिलले उच्च सम्मान प्रदान गरेको छ।

विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड तथा पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८ हजार ६ सय ११ मिटर अग्लो के–टु’ हिमालमा विन्टर सिजन (जाडो याम) मा माइनस ८० डिग्रीको तापक्रम र १ सय माइल प्रतिघण्टाको बायू गतिजस्ता प्रतिकुल अवस्थामा समेत आरोहण गरेका पूर्व गोर्खा समेत रहेका पुर्जालाई काउन्सिलले दिने सबैभन्दा उच्च सम्मान पाएका हुन्।

काउन्सिल भवनमा आयोजित एक समारोहबीच इष्ट्ली मेयर काउन्सिलर सिन्थिया गार्टोनले पूर्जालाई ‘फ्रिडम अफ दि बरो’ उपाधि प्रदान गरिन्। सन् १९०६ मा इष्टली बरो बनेयता उक्त सम्मान पाउने पूर्जा १७औं व्यक्ति हुन्। सम्मान प्रदान गर्दै मेयर सिन्थियाले पूर्जा आफ्नो बरोमात्र नभई विश्वमै गर्व गर्न लायक एक धरोधर भएको समेत बताईन्। ‘विश्वभरका मानवजातिले गर्न नसकेको काम निर्मलले गरेका छन्,‘उनका यात्रा मानवजातीकै लागि दुर्लभ हो’ बधाई दिदैं उनले भनिन्। यता सम्मान ग्रहण गदैं पूर्जाले सम्मान प्रदान गरिएकामा काउन्सिलप्रति आभार व्यक्त गरेका छन्। निर्मल इष्ट्ली बरोकै बासिन्दा हुन्।

समारोहमा इष्टली गोर्खा नेपलिज एसोसिएसन अध्यक्ष कमलबहादुर पूर्जा लगायत एसोसिएसन पदाधिकारी, काउन्सिल लिडर, काउन्सिलका प्रमुख कार्यकारी, भूपू गोर्खाहरु लगायतको उपस्थिती रहेको थियो। एसोसिएसन अध्यक्ष कमल पूर्जाले आफ्नो भाइ निर्मलले उक्त सम्मान पाएर पूर्जा परिवारमा मात्र होइन्, समस्त गोर्खा र नेपाली समुदायनै गौरवान्वित भएको बताए।

दुई बर्ष अगाडी आफ्नै जन्मभूमिमा रहेको अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट विश्व किर्तिमानीको अभियान सुरु गरेका पूर्जाले सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) मा विना अक्सिजन आरोहण गरेका थिए। उनका हरेक आरोहणहरुमा रेकर्ड र नयाँपन देखिन्छ। बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत रहँदा पूर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन्। गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए।

सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए।पूर्जाको आफ्नो बायोग्राफी पुस्तक बियोन्ड पसिबल र नेटफिल्क्सले निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्सः नथिङ इज इम्पोसिबल’ समेत सार्वजनिक भएको छ। पुस्तक र नेटफिल्क्सले निर्माण गरेको फिल्म सर्वाािधक रुचाइएको थियो। निर्मल नेपाल पर्वतारोहण संघको सद्भावना दूत हुन्। आरोही पूर्जाले दिएको अभ्यासकै कारण धेरै आरोहीहरुले पहिलोपटक आरोहण गर्न थालेका छन्।